एक हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता


ईश्वरराज ढकाल, काठमाडौं । 

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको विषयमा छानबिन गर्न गठित टोलीले राष्ट्रिय परीक्षा बोर्ड प्रदेश–१ विराटनगर परीक्षण केन्द्रका करिब १ हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस गर्ने तयारी गरेको छ ।टोलीले विराटनगरमा बोर्ड कर्मचारी, परीक्षण केन्द्रका कर्मचारी, सरोकारवाला निकायसँग गरेको छलफलपछि अंग्रेजी र अर्थशास्त्र विषयका करिब १ हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस गर्ने तयारी गरेको हो ।

विराटनगरको गोग्राह माध्यमिक विद्यालयमा प्रदेश–१ को उत्तरपुस्तिका परीक्षण गर्ने केन्द्र तोकिएको थियो । असोज १६ देखि शुरु भएको परीक्षणमा केन्द्रका कार्यालय प्रमुख डम्मरकुमार बतासले नै अनियमितता गरेको आरोप लागेको छ । विवाद बढेपछि २१ परीक्षण स्थगित भएको थियो । सो प्रदेशअन्तर्गत १३ जिल्लाका परीक्षा केन्द्रका उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था थियो ।धेरै विद्यार्थी भएका कारण छिटोछिटो परीक्षण गर्नुपर्ने भएकाले अनियमितता भएको देखिएको छ । स्रोतका अनुसार कार्यालय प्रमुख बतासमाथि विराटनगरका मेरिल्यान्ड, शिक्षादीप र अरनिकोलगायत केही नाम चलेका विद्यालयका शिक्षकलाई परीक्षक नियुक्ति गरी आफ्नै विद्यार्थीका उत्तरपुस्तिका जाँच गर्न दिएको आरोप लागेको छ । कार्यालय प्रमुख बतासले ती विद्यालयका प्राचार्यसँग राम्रो सम्बन्ध भएका कारण आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न लगाएको आरोप अन्य विद्यालयको प्राचार्यको छ ।

विराटनगरको परीक्षा केन्द्रमा खटिएका कर्मचारी खाना खान गएको समयमा कार्यालय प्रमुख बतासले उत्तरपुस्तिका जाँच्ने शिक्षकलाई उसैको विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्न दिएको आरोप लागेको छ । उत्तरपुस्तिकामा सिम्बोल नम्बरको व्यवस्था भए पनि बोर्ड कार्यालयले केही ठूला विद्यालयको उत्तरपुस्तिका चिन्ने गरी राखेको बोर्डकै कर्मचारीको भनाइ छ ।आरोप लागेपछि बोर्डले प्रदेश–१ प्रमुख बतासलाई मुख्य कार्यालयमा सरुवा गरेको छ । बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले छानबिन टोलीको सिफारिसको आधारमा बोर्डले निर्णय गर्ने बताउँदै बतासलाई बोर्डको योजना तथा अनुसन्धान महाशाखामा सरुवा गरिएको बताउनुभयो । बोर्डका कर्मचारीले भने कारबाही गर्नुपर्ने कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिएको आरोप लगाएका छन् ।

छानबिन टोलीले उत्तरपुस्तिका पुनः परीक्षण गरेपछि मात्रै बतासलाई कारबाही गर्ने वा नगर्ने विषयमा बोर्डलाई सिफारिस गर्नेछ । उत्तरपुस्तिका परीक्षण गर्दा दोषी देखिएका शिक्षकलाई समेत कारबाही गर्नुपर्ने बोर्डका कर्मचारीको भनाइ छ ।अनुसान्धान गर्न गठित टोलीले गत सोमबार बोर्डका कर्मचारी, विराटनगरमा परीक्षण केन्द्रमा खटिएका अधिकृत, अन्य कर्मचारीलगायत सबैसँग सोधपुछ गरिसकेको छ । बोर्डका सदस्यसमेत रहेका मन्त्रालयका सहसचिव दीपक शर्माले अहिले नै सबै कुरा भन्न नमिल्ने भन्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अनुसन्धानमा देखिएका विषयवस्तु सार्वजनिक गर्न मिल्दैन, बोर्डसमक्ष प्रतिवेदन बुझाएपछि तपाईंहरूले जानकारी पाउनुहुनेछ ।’

समितिले प्रतिवेदन बुझाएसँगै उत्तरपुस्तिका पुनः परीक्षण गरेपछि मात्र कक्षा १२ को परीक्षाफल प्रकाशित हुने भएको छ । बोर्डले मंसिरको पहिलो साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । सोही केन्द्रको उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएका कारण परीक्षाफल प्रकाशित हुन ढिलाइ भएको हो । परीक्षा बोर्डका उच्च अधिकारी भन्छन्– ‘विराटनगरको घटनाको विषयमा निर्णय नभएसम्म परीक्षाफल प्रकाशित हुन सक्दैन ।’ कक्षा १२ को नतिजा प्रकाशित भएपछि मात्र विश्वविद्यालयहरूमा स्नातक तहको नयाँ भर्ना र पठनपाठन शुरु हुनेछ ।