गमगढी आगलागीमा परी २० घर खरानी

५० करोडको क्षति


वीरबहादुर बम, मुगु । 

मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा आगलागी हुँदा २० घर ध्वस्त भएका छन् । सोमबार राति १२ः३० बजे ठिल्ले लामाको घरमा पूजाकोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका २० घर जलेर खरानी भएको हो । सो आगलागीबाट ५० करोड बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

ठिल्ले लामाको पूजाकोठाको दियोबाट सल्केको आगोले तल्लो बजारमा रहेको लामाको घरसहित छिरिङ लामा, गोमा शाही, डम्बर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादुर शाही, छत्तबहादुर मल्ल, कुसलाला सावद, पृथ्वीजंग शाही, रत्नबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, ग्याम्जो लामा, याग्याल लामा, विशाल मल्ल, पुतली शाही तथा लक्ष्मी शाहीको घर पूर्ण रूपले क्षति हुँदा ५० करोडभन्दा माथि क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभएको छ ।

राति १२ः३० बाट शुरु भएको लागो नियन्त्रणमा लिन ६ घण्टा लागेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बुधबार बिहान ६ बजे सो आगोलाई नियन्त्रणमा ल्याएका थिए । आगलागी भएका घरहरु सबै व्यापारिक प्रयोजनामा थिए । खाद्यान्न, फेन्सी, रेस्टुरेन्ट, होटल मेडिकल सञ्चालनमा आएका घरमा आगलागी हुँदा अहिले पीडितहरुलाई महाकाली मावि खाद्य संस्थान र पशु कार्यालयको खुला चौरमा राखिएको छ ।

साँघुरो गल्ली, पानी र दमकल तथा अन्य उपकरणकको अभावले गर्दा ठूलो क्षति भएको हो । आगलागीले भौतिक संरचना तथा धनमाल क्षति भएको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । आगलागीले गर्दा छायाँनाथ रारा नगरपालिकाका सबै स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ भने गमगढीको तल्लो बजारमा सञ्चार सेवासमेत अवरुद्ध भएको छ । खानेपानी आपूर्तिमा समेत समस्या हुँदा स्थानीयबासी हैरानीमा परेका छ ।

यसैबीच सदरमुकाम गमगढीस्थित तल्लो बजारमा आगलागी हुँदा १७ घरधनी, ४ टहरा धनी र घर बहालमा बसेका ४२ घरपरिवार गरी ६३ घरपरिवारलाई तत्काल राहत पु-याउन सरोकारवाला निकायहरु बैठकमै व्यस्त हुन थालेपछि आगलागीपीडितहरु कहाँ बस्ने के खाने चिन्तामा रहेका छन् ।तत्काल राहतका लागि मंगलबार बिहान जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षीय बैठकले राहतका लागि स्थानीय गैरसरकारी संस्था तथा कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आगलागीपीडितलाई तत्काल राहत उपलब्ध गराउने भनी प्रेस विज्ञप्तिमार्फत घोषणा गरे पनि मंगलबार साँझसम्म राहत पुग्ने कुनै सुरसार नभएको पीडितको गुनासो छ । कर्णालीका प्रदेश सांसद चन्द्रबहादुर शाहीका अनुसार काठमाडाैबाट सेनाको हेलिकोप्टर सुर्खेत पुगेर मुगु पुग्दा हेलिकोप्टरलाई फर्कन समय नपुग्ने भएकाले मंगलबार पीडितलाई राहत उपलब्ध गराउन नसकिएकाले बुधबार मात्र राहत हेलिकोप्टरमार्फत सदरमुकाममा पुग्नेछ । तत्काल राहतका लागि उद्योग वाणिज्य संघले भने सदरमुकाममा रहेका आफ्ना व्यापारीहरुबाट नगद चन्दा उठाउन शुरू गरेको छ ।

गाँस, बासको अभावमा पीडित

आगलागी भएको १८ घण्टा बितिसक्दा पनि अग्निपीडितलाई अरू त के एकसरो कपडा र खाद्यान्न पाउन पनि समस्या भएपछि उनीहरु आफन्तकोमा शरण लिन बाध्य भएका छन् ।थोरै भए पनि संघ र प्रदेश सरकारबाट हेलिकोप्टर लिएर मुख्य मन्त्री आउने हल्लाले आफूहरु दिनभर हेलिकोप्टर हेरेर बसेको पीडित पुतली शाहीले बताउनुभयो ।

त्यस्तै, दिनभर आकाशमा हेरेर बसे पनि बुधबार बिहान मात्र राहत सदरमुकाम गमगढी पुग्ने जिल्ला प्रशासन कार्यालय मुगुले जानकारी दिएपछि ६० लाखको नगद तथा जिन्सी गुमाएर ३ घण्टा टाढाको गाउँ लुम्स पुग्नुपरेको अर्का अग्निपीडित वीरबहादुर बढुवालले बताउनुभयो । ५० लाख तिरेर भर्खरै किनेको घर खरानी बन्दा भारी ऋण कसरी तिर्ने भन्दै अर्का पीडित रत्नबहादुर शाहीले आँसु खसाल्दै दुखेसो पोख्नुभयो ।

तत्काललाई भए पनि नेकपा एमाले चन्दा संकलनमा लागेको र एक-दुई दिनमै पीडितलाई रकम हस्तान्तरण गरिने मुगुका प्रदेश सांसद दानसिंह परियार बताउनुहुन्छ । नेपाली कांग्रेस मुगुको पनि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन र पार्टीबाट राहत जुटाउन बैठक भइरहेको नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही बताउनुभयो ।जिल्ला सदरमुकामका व्यापारीबाट मुगु उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस शाखा मुगुले केही रकम हस्तान्तरण गरे पनि राहत सम्बन्धित निकायको अहिलेसम्म ध्यान पुग्न नसकेको नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले बताउनुभयो ।