पाल्पामा पनि बन्दको प्रभाव


पाल्पा । 

पेट्रोलियम पदार्थ लगायतमा मूल्यवृद्धिको विरोध गर्दै  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि पूर्ण रुपमा परेको  छ । मंगलवार  बिहानैदेखि सार्वजनिक सवारी साधनहरू चल्न सकेका छैनन् । बन्दका कारण शैक्षिक संघसंस्था, पसलहरु समेत पूर्ण रुपमा ठप्प रहेका छन् ।

 जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दूरीका गाडीहरू चल्न सकेनन् । सिद्धार्थ राजमार्गको तानसेन बुटवल, तानसेन तम्घास सडकहरु पनि सुनसान छन् । कोभिडको कारण लामो समय बन्द भई सञ्चालनमा रहेका शैक्षिक संस्थाहरु र साथै घरेलु तथा साना उद्योग, बजार पसलहरुसमेत बन्द छन् । सरकारी कार्यालयहरू खुले पनि सेवाग्राहीहरू बन्दका कारण कार्यालयमा आउन सकेनन् भने बैक तथा वित्तीय संस्थाहरु बन्द रहे ।

 यात्रीको बिचल्ली: 

बन्दका कारण विभिन्न गन्तव्यमा हिँडेका यात्रीहरुको बिचल्ली भएको छ । उनीहरु मध्ये कतिपय पैदलै गन्तव्य तिर हिँडेका भेटिन्थे । विशेष गरी गाउँबाट बुटवल जान हिँडेका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका हुन् । जिल्लाको बसपार्क, बर्तुङ्ग, नारायणस्थान, प्रभास, बाँसटारीलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका भेटिन्थ  ।

गाडी कुर्नेहरूमा बुटवलमा सञ्चालन भइरहेको बन रक्षकको परीक्षा दिने परीक्षार्थीहरु समेत रहेका छन् । उनीहरुले  मंगलवार  सञ्चालित परीक्षा छुट्ने भन्दै बन्दकर्ताहरुप्रति आक्रोस व्यक्त गरेका थिए त्यस्तै दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नेहरूलाई पनि बन्दले समस्यामा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन, रामपुर, हार्थोक छहरा, आर्यभञ्ज्याङ्ग, लगायतका क्षेत्रको चोक र गल्ली गल्लीमा प्रहरी परिचालन गरेको थियो भने । बन्दको क्रममा कुनै घटना भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस अघि बन्द सफल बनाउन नेकपा माओवादीले सोमबार साँझ तानसेनमा मसाल जुलुस समेत निकालेका थिए ।