१८ औँ हस्तकला व्यापार मेलाको तयारी पूरा



काठमाडौं ।

नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको तयारी पूरा भएको छ ।

मंसिर ३ गतेदेखि ५ गतेसम्म्म काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहने बताइएको छ । विगतका मेलामा हस्तकलाबाहेकमा पनि स्टल रहने गरेकोमा यसपटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभएको छ । शाक्यका अनुसार अधिकांश स्टल बुकिङ भइसकेको छ ।

मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित समसामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइबर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवनपर्यन्त संलग्न ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान रहेको संयोजक शाक्यले जानकारी दिनुभयो ।

शाक्यका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ भने मेला अवलोकनका लागि विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख, राजदूत तथा उच्चपदस्थ अधिकारीहरूलाई पनि आमन्त्रण गरिएको छ ।

मेलामार्फत् हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने अवसर प्राप्त हुने, प्रत्येक वर्ष एक निश्चित समयमा यस्ता मेला आयोजनाले नयाँ-नयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधीकरणमा प्रोत्साहन मिल्ने, हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान हुने, स्वदेशमै रोजगारी अभिवृद्धि हुने, हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।

मेलाको झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

मेलाले कोरोना महामारीले शिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाहृय बजारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुग्ने मात्र नभई स्वदेशमै रोजगारीको अवसर दिलाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रेता बिक्रेतालाई एउटै स्थानमा भेला गराउने, नवोेदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गराउन एवं नेपाली संस्कृतिबीच हस्तकलाको सम्बन्धमा जनभावना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, हस्तकला प्रतियोगिताका संयोजक तथा उपाध्यक्ष राजमान बज्राचार्य, प्रवक्ता सनम शाक्य, राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक शौभाग्य प्रधानांग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह र नबिल बैंकका प्रतिनिधि निरज बस्नेत डानियललगायतले मेलाबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्