मदनकृष्ण परिवारको ह्याप्पी हर्ट

0
Shares

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको परिवारकै संलग्नतामा तयार भएको एक सानदार म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

ह्याप्पी हर्ट बोलको गीतमाथि एक सानदार शोका रूपमा तयार पारिएको म्युजिक भिडियो पहिले नेपाल र त्यसपछि अमेरिकामा सार्वजनिक गरिएको हो । गीत मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीले जोशिलो ढंगले गाएका छन् । मदनकृष्णका गायक तथा कलाकार पुत्रयमन श्रेष्ठले संगीत दिएको गीतमा मदनकृष्णकै गायिका छोरी सराना श्रेष्ठको शब्द रचना रहेको छ।

सराना स्वयंले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा मदनकृष्ण र इन्दिराका साथमा यमन र सराना पनि देखिएका छन्। हरि हुमागाईंले खिचेको म्युजिक भिडियोमा राजीव समरको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ ।

गीतको म्युजिक भिडियो नेपालपछि अमेरिकामा पनि एक समारोहबीच सार्वजनिक गरिएको छ। ३० वर्षअघि पहिलोपटक स्थापित नेवार समुदायको गैरमुनाफा सामाजिक संस्था नेपापास पुचः अमेरिकाय (एनपीपीए) को ३०औं वार्षिक तथा नेपाल संवत् ११४२ समारोहका अवसरमा अमेरिकाको मेरिल्यान्डमा आयोजित कार्यक्रमका बीच उक्त गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको वासिङ्टन डिसीबाट विजय थापाले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन् । अमेरिकाबाट विमोचन गर्ने भनिएकै दिनमा आफ्ना जोडी हरिवंश आचार्यको जन्मदिन परेकोले मदनकृष्णले अरबौं मान्छेहरूमा तिमी विशेष मन मिल्ने मान्छे भन्दै सामाजिक सञ्जालमार्फत विशेष दिन भएको भन्दै उक्त गीत नेपालबाट पनि सार्वजनिक गरिएको थियो । ‘छोरी सरानाले गीत लेखेर, त्यसमा छोरा यमनले संगीत भरेर सरानाकै निर्देशनमा निर्माण गरेर मलाई उपहार स्वरूप दिएको यो ह्यापी हर्ट नयाँ गीतको म्युजिक भिडियो तिमी (हरिवंश) आचार्यलगायत सम्पूर्ण नेपालीलाई एउटा सानो उपहार स्वरूप सँझा गरेको छु’ मदनकृष्णले फेसबुकमा स्ट्याटस लेख्दै भनेका थिए।

‘छोरी सराना नभएको भए यो गीत सम्भव थिएन’ अमेरिकामा आयोजित कार्यक्रममा मदनकृष्णले भने । सरानाले ४/५ वर्ष अगाडि नै लेखेर राखेको तथा आफू नेपाल गएको बेलामा बुबाको मुख हेर्ने दिन भएकोले दाजु यमनसँग सल्लाह गरेर मन खुसी हुने उपहार दिने सल्लाह अनुसार गीत तयार पारेको खुलाइन् । उनले गायिका इन्दिरा जोशीले पनि मनै खुसी हुने गरी गीत गाइदिएको चर्चा गर्दै गीत दर्शकको मनलाई अझ खुसी बनाउन गीत प्रस्तुत गरेको बताइन् ।