पुँजी बजार सुधारोन्मुख



काठमाडौं, (नेस) ।

नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रणका लागि जारी गरेको एकीकृत निर्देशन तथा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या समाधानमा भएको छलफलको प्रभाव पुँजी बजारमा देखिएको छ । जसका कारण साताको दोस्रो कारोबार दिन सोमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

तिहारपछि लगातार घटेको बजारमा सोमबार सुधार हुँदा नेप्से २६ दशमलव ४४ अंक बढेर २७१५ दशमलव ३५ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकममा पनि सुधार भएको छ । यस दिन कुल २२८ कम्पनीको ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपियाँमा ८६ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार सोमबार कारोबार भएका १३ वटै समूहको सूचक बढेको छ । जसमा बैंकिङ शून्य दशमलव ९६, व्यापार ५५ दशमलव ९४, होटल तथा पर्यटन ५८ दशमलव ५४, विकास बैंक १४१ दशमलव ४७, जलविद्युत् ५० दशमलव शून्य ५, वित्त ५७ दशमलव ८४, निर्जीवन बीमा २१२ दशमलव ४, उत्पादन १०९ दशमलव ४९, अन्य १८ दशमलव ३१, लघुवित्त ६३ दशमलव ३८, जीवन बीमा ११३ दशमलव २४, सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ र लगानी १ दशमलव ६९ अंकले बढेको छ ।

त्यस्तै कारोबारका आधारमा महालक्ष्मी विकास बैंक अगाडि रहेको छ । सो बैंकको ३५ करोड ४६ लाख ४० हजारको कारोबार भयो । यस्तै एचआईडीसीएलको २८ करोड ६४ लाख ९२ हजार, लुम्बिनी विकास बैंकको २३ करोड ७९ लाख ८२ हजार, नबिल बैंकको १६ करोड १५ लाख १७ हजार र ज्योति विकास बैंकको १३ करोड ९२ लाख ९४ हजारको कारोबार भएको छ ।

सोमबार बोटलर्स तराई, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी ९ दशमलव ६१ र शुभश्री हाइड्रोपावरको ८ दशमलव ७० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । तर, महालक्ष्मी विकास बैंक ४ दशमलव ४६, माउन्टेन इनर्जी २ दशमलव ८४, एसबिएल डिवेञ्चर २, माछापुच्छ्रे बैंकको डिवेञ्चर र एनएमबी ५० का लगानीकर्ताले १ दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्