सिन्धुलीमा ‘विप्लव’ नेतृत्व नेकपाका २३ कार्यकर्ता पक्राउ (तस्बिरहरु)

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ । विहानै सदरमुकाम सिन्धुलीमाढीका पसलहरु बन्द गराउदै हिडेका ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

विहानै सदरमुकाममा बन्द हड्तालका गतिविधि गर्दै हिडेका २३ जना ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

‘विप्लव’ नेतृत्वको नेकपाका बन्दकर्ताहरुलाई विहानै बन्द हड्ताल नगर्न आग्रह गरेपनि अटेर गरेर बन्द हड्ताल गर्न थालेपछि पक्राउ गरिएको प्रहरी उपरिक्षक थपलियाले बताए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि सिन्धुलीमा प्रभाव परेको छ । लामो तथा छोटो दुरीका सवारी साधन आवात जावत रोकिएको छ ।

सदरमुकामका पसलहरु फाट्टफुट्ट मात्रै खुलेका छन् । विपी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्ग र ग्रामीण भेगमा संचालन हुने सवारी साधन ठप्प भएका छन् । बन्दका कारण काठमाडौं लगाएत लामो दुरीका यात्रुहरु बाटैमा अलपत्र परेका छन् ।

बसपार्क, शान्तिनगरचोक, धुराबजार, भिमान, खुर्कोट लगाएतका ठाउँमा यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् । बन्दको प्रभाव कम गर्न जिल्ला भरी ४ सय बढी प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक थपलियाले बताउनुभयो ।

बन्दकर्ताहरुले सदरमुकाम सिन्धुलीमाढीलाई ध्यानमा राखेर बन्दका गतिविधि गर्ने भएकाले सदरमुकामका बस पार्क, शान्तिनगरचोक, धुरा बजार, लोकतान्त्रिक चोक लगाएत ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।