भारतीय सेना प्रमुखको इजरायल भ्रमण रक्षा सम्बन्ध सुदृढीकरणमा केन्द्रित

0
Shares

इन्डिया न्युज नेटवर्क । 

भारतका प्रधानसेनापति जनरल एमएम नरवणे नोभेम्बर १५ तारिखदेखि १९ तारिखसम्मका लागि इजरायल भ्रमणमा शुरू गरेका छन् । यो उनको पहिलो इजरायल भ्रमण हो । यसअघि विदेश मन्त्री एस जयशंकर‌ले‌ पनि इजरायलको पाँच दिने भ्रमण गरिसकेका छन् । यस वर्षको शुरूमा, भारतीय वायुसेना प्रमुखले इजरायलको भ्रमण गरी द्विपक्षीय रक्षा सहयोगबारे छलफल गरेका थिए ।

आइतबार रक्षा मन्त्रालयले जनाएअनुसार भ्रमणका क्रममा जनरल नरभानेले देशको उच्च सैन्य र नागरिक नेतृत्वसँग भेटघाट गर्नेछन् जहाँ उनले भारत–इजरायल रक्षा सम्बन्धलाई अझ प्रगाढ बनाउने उपायहरूबारे छलफल गर्नेछन् । सेना प्रमुखले सुरक्षा प्रतिष्ठानका वरिष्ठ अधिकारीहरूसँग बहुपक्षीय भेटघाट र रक्षासम्बन्धी विभिन्न विषयमा विचार आदानप्रदान गरी इजरायल र भारतबीचको उत्कृष्ट द्विपक्षीय रक्षा सहयोगलाई अगाडि बढाउनेछन् ।

जनरल नरवानेले सेवा प्रमुखहरूसँग अन्तरक्रिया गर्नेछन् र इजरायली रक्षा बल (आईडीएफ) का ग्राउन्ड फोर्स एलिमेन्टको मुख्यालयको भ्रमण गर्नेछन् ।

यसअघि, भारतीय वायुसेना प्रमुख आरकेएस भदौरियाले अगस्ट महिनाको ३ तारिखदेखि ६ सम्म इजरायलको चार दिने भ्रमण गरेका थिए ।

रक्षा मन्त्रालयले उनको भ्रमणपछि भनेको छ – ‘भारतीय वायु सेना प्रमुखको इजरायल भ्रमणले भारतीय वायुसेना र इजरायली वायुसेनाको सम्बन्धमा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ । दुवै पक्षले भविष्यको लागि द्विपक्षीय संलग्नता र बहु–अनुशासनात्मक व्यावसायिक आदानप्रदानको साझा दृष्टिकोणलाई साझा गरेका छन् ।’

भारतले इजरायलबाट महत्वपूर्ण रक्षा प्रविधिहरू आयात गर्दछ र दुई देशबीच सशस्त्र सेनाहरूबीच नियमित आदानप्रदान हुन्छ । आतंकवाद विरोधी संयुक्त कार्यदल लगायत सुरक्षाका विषयमा दुई पक्षबीच घनिष्ठ सहयोग रहेको छ ।