म्यान्मारमा अमेरिकी पत्रकार कारागारमुक्त

0
Shares

नोमपेन्ह, (एजेन्सी) ।

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यान्मारस्थित एउटा कारागारबाट मुक्त गरिएको छ । तीन दिनअघि मात्र एउटा सैनिक अदालतले उनलाई एघार वर्ष लामो कारावास सजाय सुनाएको थियो । उनले काम गर्दै आएको अंग्रेजी भाषाको न्युज साइट फ्रन्टियर म्यान्मारका मालिकले उनी अहिले म्यान्मारबाहिर एक हवाइ उडानमा रहेको जनाएका छन् ।

सैनिक सरकार जुन्ताका प्रवक्ता मेजर जनरल ज मिन टुनले उनलाई मुलुक छाड्न अनुमति दिइएको पुष्टि गरेका छन् ।  फेन्स्टरलाई २४ मे मा याँगुन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । त्यतिबेला उनी अमेरिकाको डेट्रोइटमा आफ्नो परिवारलाई भेट्न जाने तरखरमा थिए । उनलाई तीनवटा अभियोगमा एघार वर्ष लामो  कडा श्रमसहितको सजाय सुनाइएको थियो ।

अनलाइन पत्रिका फ्रन्टियर म्यान्मारका व्यवस्थापक सम्पादक रहेका फेन्स्टरमाथि आतंकवाद र जालसाजीजस्ता थप अभियोगको पनि लगाइएको थियो । यदि ती अभियोग पनि प्रमाणित सावित भएको खण्डमा उननलाई आजीवन कारावास सजाय हुन सक्थ्यो । वकिल थान जाअ आँगका अनुसार उनलाई झुठा सूचनाहरू प्रचार प्रसार गरेको, अवैध संघ संस्थाहरूसँग सम्पर्क राखेको तथा भिसासम्बन्धी नियमहरू उल्लंघन गरेको अभियोगमा दोषी करार गरिएको हो । अमेरिका लगायत विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहले उनलाई तत्काल निशर्त रिहा गर्न म्यान्मार सरकारमाथि दबाब दिँदै आएका थिए ।

गत फेब्रुअरीमा शान्तिका लागि नोबेल पुरस्कार विजयी आङ सान सुकीको जननिर्वाचित सरकारलाई सेनाले अपदस्थ गरेयता सजाय सुनाइएका सात जना पत्रकारमध्ये फेन्स्टरलाई दिइएको सजाय सबैभन्दा कडा रहेको छ । सेनाले थुनेका दर्जनौं पत्रकारमध्ये उनी पनि एक थिए ।