जापानी पूर्वराजकुमारी पतिसँग अमेरिका प्रस्थान

0
Shares

टोक्यो, (एजेन्सी) ।

जापानकी पूर्व राजकुमारी माको आफ्नो सर्वसाधारण पति केइ कोमुरोसँग नयाँ जीवन सुरुआतका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन् । केइसँग विवाहका लागि नै माकोले शाही उपाधि त्यागेकी थिइन् । कलेजमा पढ्दै गर्दा प्रेममा परेका तथा गत महिनामात्र विवाह बन्धनमा बाँधिएको यो जोडी आइतबार बिहान टोक्यो विमानस्थबाट अमेरिका प्रस्थान गर्न लाग्दा दर्शक तथा प्रशंसकहरूको खासै भीडभाड नरहेको जापानी सञ्चार माध्यमले जनाएको छ । तिनीहरूले अमेरिकाको न्युयोर्कमा एउटा अपार्टमेन्ट भाडामा लिने भएका छन् । त्यहाँ कोमुरो एउटा ल फर्ममा काम गर्छन् ।

जापानको प्रचलित कानुनअनुसार जापानी राज परिवारका महिला सदस्यहरूले कुनै सर्वसाधारणसँग विवाह गर्न शाही उपाधि त्याग्नु जरुरी छ । माको र कोमुरो विमानस्थलको टर्मिनलबाट हिँड्ने क्रममा प्रहरीले कडा सुरक्षा प्रदान गरेको थियो । त्यहाँ करिब एक सय जना पत्रकारको उपस्थित रहे पनि तिनीहरूले कसैको प्रश्नको पनि जवाफ नदिएको बुझिएको छ । यो जोडी न्युयार्कतर्फ जाने हल्ला लामो समयदेखि चल्दै आएको थियो । अब माकोले पनि त्यहाँ एउटा जागिर खोज्ने अनुमान गरिएको छ ।

बेलायती शाही परिवारका सदस्य राजकुमार ह्यारी र मेगन मार्कल पनि विवाहपछि अमेरिकामा बसाईं सरेका थिए । त्यसैले पनि माको र कोमुरोको जोडीलाई पनि ‘ जापानका ह्यारी र मेगन’ उपनाम दिइएको थियो । सामान्य समारोहबीच विवाह गरेकी माकोले विवाहका बेला जापानी राजप्रासादबाट परम्परागत रूपमा दिइने गरेको दाइजो स्वरूपको एकमुष्ट रकम लिन अस्वीकार गरेकी थिइन् ।