अस्ट्रियामा पूर्णरूपमा खोप नलगाउनेलाई घरबाट निस्कन नदिइने

0
Shares

भियना, (एजेन्सी) ।

अष्ट्रियामा पूर्ण रूपमा कोभिड–१९ को खोप नलगाएका करिब बीस लाख मानिसलाई सरकारले घरबाट ननिस्कन निर्देशन दिएको छ । मुलुकमा पुनः कोराना भाइरस संक्रमणको संख्यामा वृद्धि हुन थालेपछि सरकारले यो कदम चालेको त्यहाँको सञ्चार माध्यमले सोमबार जनाएको छ ।

अस्ट्रियाका चान्सलर अलेक्जान्डर र स्कालेन्वर्गले भनेका छन् – ‘हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौं । तर, दुखलाग्दो कुरा हामी केही जनतामाथि कडा लकडाउन जस्ता नीति कार्यान्वयन गर्न बाध्य छौं । तिनीहरूलाई खाद्यान्न खरिद र काममा जानका लागि मात्र घरबाट निस्कने अनुमति दिइने भएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका नागरिकलाई कम्तीमा १० दिनका लागि ‘लकडाउन’ गरिएको हो । आइतबार राति १२ बजेबाट त्यस्तो प्रतिबन्ध गरिएको हो । सो प्रतिबन्ध १२ वर्षभन्दा माथिका व्यक्तिहरूलाई लगाइएको हो । अब १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाउने छैनन् । तर, तिनीहरू खोप लगाउका लागि खोप केन्द्रसम्म जान भने पाउने बताइएको छ ।

पछिल्लो समय अस्ट्रियामा कोरोना संक्रमण तीव्र भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ । यदि, कसैले सरकारी निर्देशन उल्लंघन गरेको खण्डमा १ हजार ६ सय ६० अमेरिकी डलरसम्म जरिवाना गरिने सरकारी अधिकारीहरूले बताएका छन् ।

अस्ट्रियामा कूल जनसंख्याको करिब ६५ प्रतिशतले मात्र पूर्ण रूपमा खोप लगाएक छन् । पश्चिमी युरोपमा यो तथयांक सबैभन्दा कम दर मध्ये एकमा पर्दछ ।

सातदिने संक्रमित दर संकलन गरिँदा प्रति १ लाख व्यक्तिमा ८ सय जनाभन्दा बढी संक्रमित पाइएको छ । युरोपमा फेरि महामारी फैलिन थालेकाले थुप्रै मुलुकमा कोरोना विरुद्धका नियमहरू कडाइताका साथ लागु गरिएको छ ।