नारायणहिटी संग्रहालयमा पूर्वराजपरिवारको डकुमेन्ट्री देखाउने तयारी

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

नारायणहिटी संग्रहालयमा स्वर्गीय राजा वीरेन्द्र शाहको राज्याभिषेक, स्वर्गीय युवराज दीपेन्द्रको व्रतबन्ध, स्वर्गीय राजकुमारी श्रुतिको विवाह समारोहलगायतका पूर्वराजपरिवारका महत्वपूर्ण कार्यक्रमहरू हेर्न पाइने भएको छ ।

नारायणहिटी संग्रहालय प्रशासनले पूर्वराजपरिवारको विभिन्न ऐतिहासिक समारोहको फोटो तथा भिडियो सामग्रीलाई डिजिटाइज गर्ने तयारी गरेसँगै डकुमेन्ट्री तयार गरी सर्वसाधारणलाई देखाउने तयारी गरेको हो ।

संग्रहालयले चलचित्र विकास बोर्डसँग सहकार्य गरी डिजिटाइजेसन गर्न लागेको जनाएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले तयार भएका सबै सामग्री दरबारको हलमा प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राखेसँगै बन्द रहेको सिनेमा हल खुला हुनेछ । सो हलमा राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र उहाँको परिवारको जीवनी र इतिहास हेर्न पाइने गरी तयारी गरेका छौं ।’

उहाँका अनुसार राजा त्रिभुवन र महेन्द्रसँग जोडिएका ऐतिहासिक दस्तावेज, वीरेन्द्रको राज्याभिषेक, दीपेन्द्रको व्रतबन्ध, श्रुतिको विवाह, राजपरिवारको स्वदेश र विदेश भ्रमण, राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रको नाममा गरिएको सम्बोधन, औपचारिक विदेश भ्रमण, सार्क सम्मेलन, राजपरिवारको हैसियतमा गरिएका भ्रमणलगायतका विषयमा संग्रह गरिएको महत्वपूर्ण सामग्रीलाई डिजिटाइज गरेर संग्रहालयमा राखिनेछ ।

उहाँले वर्षौंअघिको रिललाई डिजिटाइज गर्ने र सबै डकुेन्टलाई एकत्रित गरी राजपरिवारले मात्रै प्रयोग गर्ने हलमा बसेर हेर्न पाउने गरी व्यवस्थापन गर्न लागिएको बताउनुभयो । पुरानो रिललाई डिजिटाइज गर्न ५० लाख बजेट विनियोजन गरेको जानकारी दिँदै कार्यकारी निर्देशक दाहालले भन्नुभयो– ‘यो सबै काम बोर्डलाई जिम्मा लगाउँदै छौं । हलमा डकुमेन्ट्री हेर्न मिल्ने गरी गर्न टुके मेसिन र सर्भर खरिद गरिसकेका छौं ।’

करिब दुई वर्षअघि संग्रहालयमा तत्कालीन राजा वीरेन्द्रले २०३१ सालमा शुभ–राज्यभिषेकका लागि प्रयोग गर्नुभएको सुनौलो बग्गी सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको थियो । २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा खुला भएपछि स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारको सामग्री, नारायणहिटी हत्याकाण्डमा मृत्यु भएका युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारीसाधन, वीरेन्द्रको निजी निवास श्रीसदन, श्रीपेच, राजदण्डलगायतका विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिसकिएको छ ।

कार्यकारी निर्देशक दाहाल भन्नुहुन्छ– ‘अब राजा वीरेन्द्र र उहाँको परिवारले चढ्ने हेलिकोप्टर, हवाईजहाज, नारायणहिटी संग्रहालयभित्र रहेको पूजाकोठा, स्वर्गीय रानी ऐश्वर्याको शृंगारकक्ष नजिक फोटोग्राफी कक्ष र पुस्तकालय खोल्ने तयारी गरेका छौँ ।’

यसैबीच यही मंसिर ९ गते संग्रहालय स्थापनाको अवसरमा समितिले संग्रहालयको एप्स सार्वजनिक गर्दै छ । सोही दिन मोबाइल लकर र एभरेस्ट बैँकको सहयोगमा निर्माण भइरहेको चिल्ड्रेन पार्क खुला गर्ने तयारी पनि भइरहेको छ ।