‘महाधिवेशन प्रतिनिधिलाई आवास र भोजनमा गुनासो हुने छैन’

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।

मंसिर २४ देखि २६ सम्म हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनको भोजन तथा आवास व्यवस्थापन समितिको नेतृत्व केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई दिइएको छ ।

यो समितिले देशभरबाट महाधिवेशनमा भाग लिन आउने झन्डै ४ हजार ५ सय प्रतिनिधिलाई कम्तीमा पनि तीन दिनसम्म राजधानीमा व्यवस्थित भोजन र आवासको व्यवस्था गर्नेछ । प्रतिनिधिबाहेक महाधिवेशनमा सयौंको संख्यामा आउने पाहुनाका लागि पनि भोजन र आवासको व्यवस्था गर्नुपर्नेछ ।

महाधिवेशनका लागि भोजन र आवास मूल समितिको संयोजकको जिम्मेवारी पाएलगत्तै केन्द्रीय सदस्य पाण्डे देशभरबाट आउने महाधिवेशन प्रतिनिधिलाई कसरी व्यवस्थित तरिकाले राख्ने र खुवाउने भन्नेबारेमा छलफल गरिरहेको बताउनुहुन्छ । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिलाई सुन्धारा, बागबजार, गौशाला र ठमेल एरियामा रहेको होटलहरुमा बस्ने र खाने व्यवस्था मिलाउने भन्दै पाण्डे भन्नुहुन्छ– ‘मैले आवास तथा भोजन व्यवस्थापनको मूल समितिको नेतृत्व पाएलगत्तै कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल गरिरहेको छु ।’ अघिल्लो अधिवेशनमा यसै समितिमा बसेर काम गरेका साथीहरु र केन्द्रीय कार्यालयका कर्मचारीका साथै होटल एसोसियसन र क्याटरिङ सञ्चालकसँग पनि छलफल गरेको संयोजक पाण्डे बताउनुहुन्छ ।

‘महाधिवेशन प्रतिनिधिलाई मंसिर २४ गते बेलुकीदेखि २६ गतेसम्म त राख्नै पर्‍यो’, संयोजक पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘महाधिवेशन केही दिन लम्बियो भने अझ खाने बस्ने दिन बढाउनुपर्ने हुन्छ ।’ महाधिवेशन प्रतिनिधिलाई राजधानीमा व्यवस्थित तरिकाले राख्न र खुवाउन आवासको मात्र हेर्ने गरी छुट्टै उपसमिति र खानाको मात्र हेर्ने गरी छुट्टै उपसमिति बनाउने मूल समितिका संयोजक पाण्डेको भनाइ थियो । उहाँ भन्नुहुन्छ– ‘होटलमा बसेका महाधिवेशन प्रतिनिधिलाई केही समस्या नहोस् भन्ने हेतुले सुन्धारा, ठमेल, बागबजार र गौशाला एरियामा छुट्टाछुट्टै थप स्थानीय कमिटीहरु पनि बनाइनेछ । यो कमिटीले आफ्नो एरियामा बसेका प्रतिनिधिलाई कुनै समस्या भएमा तत्काल समाधान गर्न अग्रसर हुनेछ ।’

होटल भएको एरियापिच्छे गठन गरिएको समितिले महाधिवेशन प्रतिनिधिलाई आ–आफ्नो एरियामा लाने लैजाने र केही समस्या आए समाधान गरिदिन सहज हुने पाण्डे बताउनुहुन्छ । प्रतिनिधिका लागि खाने र बस्ने व्यवस्था मध्यम गुणस्तरको हुने उहाँको भनाइ छ । एकदम उच्च गुणस्तरको होटलमा राख्न र खुवाउन रकम धेरै लाग्ने बताउँदै उहाँ भन्नुहुन्छ– ‘ज्यादै न्यून गुणस्तरको होटल र खाना पनि हुँदैन ।’ खर्च पनि कम गुणस्तर पनि धेरै हुने गरी आवास र भोजनको व्यवस्था गर्न एक दुई दिनमै थप उपसमिति बन्ने संयोजक पाण्डेले बताउनुभएको छ । संयोजक पाण्डे भन्नुहुन्छ– ‘महाधिवेशनका लागि देशभरबाट राजधानी आएका प्रतिनिधिले आवास र भोजनमा गुनासो गर्ने ठाउँ नराखी काम गरिनेछ ।’

राजधानीमा हुने कांग्रेसको १४औं महाधिवेशनका लागि ७७ जिल्ला सभाापतिसहित प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाको दरले महाधिवेशन प्रतिनिधि आउँछन् । केन्द्रीय सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि गरी ४ हजार ५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि राजधानी आउनेछन् ।