प्रदेश प्रमुखको निवास निर्माण कार्य धमाधम

0
Shares

काठमाडौं, (नेस) । 

प्रदेश सरकारहरु छोटो–छोटो समयमा फेरबदल भइरहे पनि प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माणका कामले भने गति लिएको छ । संघीय राजधानी काठमाडौंमा आउँदा मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको कार्य सम्पादन सहज बनाउने उद्देश्यले निर्माण शुरु भएको सम्पर्क कार्यालय भवनको काम तीव्र गतिमा अगाडि बढेको हो ।

सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम हालसम्म ६८ प्रतिशत सम्पन्न भएको छ । सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको भैंसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको बाँकी काम समयसीमाभित्र नै सम्पन्न गर्ने जनाएको छ ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले तोकिएकै समयसीमाभित्र काम सम्पन्न गराउने गरी काम भइरहेको बताउनुभयो । उहाँले स्टक्चर निर्माणको काम सबै सम्पन्न भएर हाल रंगरोगनको काम अगाडि बढेको जानकारी दिनुभयो । निर्माण गरिएको प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखले प्रयोग गर्ने गरी निर्माण गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनामार्फत निर्माण भइरहेका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास एवं सम्पर्क कार्यालय भवन २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको छ ।

जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहने गरी निर्माण भइरहेको छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत सातवटा सम्पर्क कार्यालयको सबै भवन निर्माण सम्पन्न भएर हाल फिनिसिङको चरणमा रहेको छ ।

सरकारले मूलुक संघीयतामा गएपनि सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेशका संघीय राजधानी आउँदा सम्पर्क कार्यालयको रुपमा भवन निर्माण गरेको हो । दुई तलाको भवनमा पूजाकोठादेखि योगकक्षसम्म बनाइएको छ । भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल बनाइएको छ । पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजा कोठा हुने बताइएको छ ।

२०७५ सालको मंसिर १७ गते मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख, मुख्यमन्त्रीको सम्पर्क कार्यालय र आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार शहरी विकास तथा भवन विभागले आवास निर्माण अघि बढाएको हो ।