महाधिवेशन प्रतिनिधिलाई आवास र भोजनमा गुनासो हुने छैन

का‌ग्रेस महाधिवेशन


रामकृष्ण चापागाईं, काठमाडौं । 

मंसिर २४ देखि २६ सम्म हुने नेपाली काग्रेसको १४औँ महाधिवेशनको भोजन तथा आवास व्यवस्थापन समितिको नेतृत्व केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई दिइएको छ । यो समितिले देशभरबाट महाधिवेशनमा भाग लिन आउने झन्डै ४ हजार ५ सय प्रतिनिधिलाई कम्तीमा पनि तीन दिन सम्म राजधानीमा व्यवस्थित भोजन र आवासको व्यवस्था गर्नेछ । प्रतिनिधिबाहेक महाधिवेशनमा सयौँको संख्यामा आउने पाहुनाहरुको लागि पनि भोजन र आवासको व्यवस्था गर्नुपर्नेछ ।

महाधिवेशनको लागि भोजन र आवासको लागि गठन गरिएको मूल समितिको संयोजकको जिम्मेवारी पाए लगत्तै केन्द्रीय सदस्य पाण्डे देशभरबाट आउने महाधिवेशन प्रतिनिधिहरूलाई कसरी व्यवस्थित तरिकाले राख्ने र खुवाउने भन्ने बारेमा छलफल गरिरहेको बताउनु हुन्छ । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिहरूलाई सुन्धारा, बागबजार, गौशाला र ठमेल एरियामा रहेको होटलहरुमा बस्ने र खाने व्यवस्था मिलाउने भन्दै पाण्डे भन्नुहुन्छ– मैले आवास तथा भोजन व्यवस्थापनको मूल समितिको नेतृत्व पाए लगत्तै कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गरिरहेको छु । अघिल्लो अधिवेशनमा यसै समितिमा बसेर काम गरेका साथीहरू र केन्द्रीय कार्यालयका कर्मचारीका साथै होटेल एसोसिएसन र क्याटरिङ सञ्चालनहरू संगपनि छलफल गरेको संयोजक पाण्डे बताउनुहुन्छ ।

‘महाधिवेशन प्रतिनिधिहरूलाई मंसिर २४ गते बेलुकी देखि २६ गते सम्म त राख्नै प-यो’ संयोजक पाण्डेले नेपाल समाचार पत्रसँग भन्नुभयो– महाधिवेशन केही दिन लम्बियो भने अझ खाने बस्ने दिन बढाउनु पर्ने हुन्छ । महाधिवेशन प्रतिनिधिहरूलाई राजधानीमा व्यवस्थित तरिकाले राख्न र खुवाउन आवासको मात्र हेर्ने गरी  छुट्टै उपसमिति र खानाको मात्र हेर्ने गरी छुट्टै उपसमिति बनाउने मूल समितिका संयोजक पाण्डेको भनाई थियो । उहाँ भन्नुहुन्छ– भोटरमा बसेका महाधिवेशन प्रतिनिधिहरूलाई केही समस्या नहोस् भन्ने हेतुले सुन्धारा, ठमेल, बागबजार र गौशाला एरियामा छुट्टाछुट्टै थप स्थानीय कमिटीहरू पनि बनाइने छ । यो कमिटीले आफ्नो एरियामा बसेका प्रतिनिधिहरूलाई कुनै समस्या भएमा तत्काल समाधान गर्न अग्रसर हुनेछ ।

होटेल भएको एरिया पिच्छे गठन गरिएको समितिले महाधिवेशन प्रतिनिधिहरूलाई आ–आफ्नो एरियामा लाने लैजाने र केही समस्या आए समाधान गरिदिन सहज हुने पाण्डे बताउनु हुन्छ । प्रतिनिधिको लागि खाने र बस्ने व्यवस्था मध्यम गुणस्तरको हुने पाण्डे बताउनु हुन्छ । एकदम उच्च गुणस्तरको भोटरमा राख्न र खुवाउन रकम धेरै लाग्ने बताउँदै उहाँ भन्नुहुन्छ– ज्यादै न्यून गुणस्तरको होटेल र खाना पनि हुँदैन । खर्च पनि कम गुणस्तर पनि धेरै हुने गरी आवास र भोजनको व्यवस्था गर्न एक दुई दिनमै थप उपसमितिहरू बन्ने संयोजक पाण्डेले बताउनु भएको छ । संयोजक पाण्डे भन्नुहुन्छ– महाधिवेशनका लागि देशभरबाट राजधानी आएका प्रतिनिधिले आवास र भोजनमा गुनासो गर्ने ठाउँ नराखी काम गरिनेछ ।

राजधानीमा हुने काग्रेसको १४औँ महाधिवेशनको लागि ७७ जिल्ला सभापति सहित प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाको दरले महाधिवेशन प्रतिनिधि आउँछन् । केन्द्रीय सदस्य, भातृ एवं शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, विदेश स्थित जनसम्पर्क समितिका प्रतिनिधि गरी महाधिवेशनमा ४ हजार ५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि राजधानी आउने बताइएको छ ।