आर्या मिस लिटिल नेवाः

0
Shares

राजधानीमा शनिबार सम्पन्न नेवार बालिकाहरूको प्रतिभामूलक प्रतियोगितामा सामाखुसीकी १० वर्षीया आर्या श्रेष्ठले मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुमेकी छिन्।

नेपालकै सबैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लिज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको मिस लिटिल नेवाः नेपाल ११४१ मा आर्या मुख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाइसअवार्डलाई आफ्नो बनाउन सफल भइन्।

प्रतियोगिताका प्रमुख निर्णायक अशोकबाबु श्रेष्ठद्वारा उत्कृष्ट ५ मा पुग्न सफल प्रतियोगीहरूलाई सोधिएको ‘नेवारी कला, संस्कृति र संस्कार किन महत्वपूर्ण छ’ भन्ने प्रश्नमा ‘संस्कृति मानवनिर्मित सामाजिक घटक हो, जुन मानव सभ्यता र उनीहरूको पहिचानको अस्तित्वको लागि बनाइएको हो। यसमा हामीले बोल्ने भाषा, हामीले मनाउने जात्रा र चाडपर्व, हाम्रो समाजमा पालना गर्ने परम्परागत भेषभूषा रीतिरिवाजजस्ता सबै मूर्त र अमूर्त सम्पदा समावेश हुन्छन्। यदि, संस्कृति छैन भने मानिसको आफ्नो समुदाय र समाजमा सामाजिक पहिचान हुँदैन। मलाई लाग्छ मानवलाई सभ्य र अनुशासित बनाउनका लागि संस्कृति पनि महत्व छ’ भन्ने सटिक जवाफ दिएर निर्णायकहरूको मन जितेकी थिइन्। उनलाई प्रमुख उपाधि जितेवापत नगद २५ हजार रुपियाँ प्रदान गरिएको थियो।

कोभिडपछिको माहोेलमा पहिलोपटक खचाखच दर्शकका बीच सम्पन्न १३औं संस्करणको मिस लिटिल नेवाः नेपाल प्रतियोगितामा प्रनिधि मानन्धर फस्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेन्ड रनर्सअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भएका थिए। त्यसैगरी, सिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनर्सअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेन्ड रनर्सअपका साथमा वेस्ट स्माइल चुनिएका छन्। प्रतियोगितामा फस्ट र सेकेन्ड रनर्सअपका विजेतालाई क्रमशः १५ र १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ। नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, र्‍यापर निर्णय श्रेष्ठ, नेपाल लिपि गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२ बी १ नेपालका क्षेत्रीय प्रमुख इन्द्ररत्न बज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणिश्री रत्न बज्राचार्य र मिस नेवाः ११३८ रिजु मानन्धर निर्णायक तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमुख निर्णायक रहेको प्रतियोगिामा टिसा तण्डुकार बेस्ट नेपाल भाषा, प्रकृति महर्जन नेपाल भाषा फस्ट रनर्सअप र सिम्रिक श्रेष्ठ नेपाल भाषा सेकेन्ड रनर्सअप, दिमी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर चिफ, आर्या खोपे श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप, सफलता श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर सेकेन्ड रनर्सअप, एभान्जलिना महर्जन बेस्ट ड्रेस, क्रिस्टिना महर्जन र बितिसा कंसाकार मिस कल्चर, युनिका बडे मिस पर्सनालिटी, सलिस्का महर्जन बेस्ट हेयर, सान्भी श्रेष्ठ बेस्ट स्किन, सफलता श्रेष्ठ मिस चार्मिङ र मिस फ्रेन्डसिप, एन्जेला महर्जन मिस इलिजिन्ट र मिस इनोसेन्ट तथा सनिस्मा महर्जन र केभिया श्रेष्ठ मिस डिसिप्लेन उपाधिका विजेता भएका छन्।

नेवार बालिकाहरूको आत्मविश्वास वृद्धि तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ वर्षेनी मिस लिटिल नेवाः नेपाल आयोजना गर्दै आएको यसको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्। त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रमले नेवार संस्कार र संस्कृति बचाउन सघाउने चर्चा गरे। प्रतियोगिता मिस नेवाः कि फस्ट रनर्सअप प्रिया तण्डुकार र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा सम्पन्न भएको हो।