मोतीराम तिमल्सिना, काभ्रे ।
जिल्लाको विकट महाभारत गाउँपालिकामा रहेको ईलाका प्रशासन कार्यालयबाट उपलब्ध हुने नागरिकता अधिकृत नभएका कारण बन्द भएको छ ।
पटक पटक गाँउपालिकाले इलाका प्रशासन कार्यालयमा अधिकृत तहको कर्मचारी पठाई दिन माग गरेको भए पनि गृहमन्त्रालयले कर्मचारी नपठाउँदा निमित्तले नागरिकता वितरण गरिरहेका थिए । निमित्त दिएको अवधी पुरा भए पछि नागरिकता वितरण बन्द भएको हो । २०७५ जेठ ९ गतेबाट महाभारत गाउँपालिकाको ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण शुरु भएको थियो । झपेन्द्रराज खरेलले २०७६ चैत्र २ गतेसम्म उक्त क्षेत्रमा रहेर नागरिकता वितरण गर्नु भएको थियो । देवराज गौतमले २०७६ जेठ ३ गतेबाट २०७६ मसिंर ६ गतेसम्म सोहि क्षेत्रमा जिम्मेवारी लिएर काम गर्नु भएको थियो । त्यतिबेला पनि दुई महिना कर्मचारी नभएकाले नागरिकता वितरणमा समस्या भएको थियो । देवराज पछि राममणी काफ्लेले २०७६ मसिंर ७ गते देखि २०७४ माघ २९ गतेसम्म काम गर्नु भयो । इलाका प्रशासन कार्यालयबाट नागरिकता, नागरिकता प्रतिलिपि र राहदानीका लागि फाराम भरेर पठाउने गरिएको छ । नागरिकता मात्रै इलाकाबाट बनाउँदा नागरिकहरुको प्रति नागरिकता बनाउन लाग्ने खर्च १० हजार बचत भएको छ । महाभारतबाट धुलिखेल सदरमुकाम नागरिकता बनाउन आँउदा, जाँदा र बास बसेको खर्च समेत गर्दा १० हजार जति खर्च हुने गरेको थियो । नागरिकता वितरण बन्द हुँदा स्थानीयहरु चिन्तित छन् ।
२०७६ माघ ३० देखि निमित्तका घरमा चलेको इलाका प्रशासन कार्यालय २०७८ कार्तिक १२ गतेबाट बन्द भएको हो । कानुनत एउटै ब्यक्तिलाई लगातार लामो समयसम्म निमित्त दिन नमिल्ने भएकाले रामप्रसाद शर्माले कार्तिक १२ गतेबाट काम गर्न नपाएका हुन् । उनि १५ दिन लामो विदा लिएर घर गएका छन् । निमित्तकै भरमा ईलाका प्रशासन कार्यालय संचालन हुँदा प्रशासनिक कार्य समेत अवरोध भएको छ । महाभारतको इलाका प्रशासन कार्यालयमा कार्तिक ७ गते १४ जना, कार्तिक ८ गते २५ जना, ९ गते ७, १० गते ५, ११ गते ६ जनाले नागरिकता लिएका थिए । आर्थिक वर्ष २०७७/२०७८ मा ७ सय ५० जनाले नागरिकता लिएका छन् भने १ सय ५५ जनाले प्रतिलिपि लिएका छन् । २०७८/२०७९ मा नागरिकता लिनेहरुको सख्या २ सय ५ पुगिसकेको छ । ७५ जनाले प्रतिलिपि लिएका छन् । नागरिकहरुलाई दैनिक आवश्यक पर्ने नागरिकता वितरण रोकिए पछि कर्मचारीहरुले फाराम भरेर सदरमुकाम पठाउने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले महाभारत गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा नियमित रुपमा कर्मचारी पठाउने गरी पटक पटक गृहमन्त्रालयमा अनुरोध गरिएको भए पनि ब्यवस्थापन हुन नसकेको बताउनु भयो । नागरिकहरुको नागरिकता पाउने अधिकारलाई बञ्चित नगरे पनि स्थायी ब्यवस्थापनमा चासो दिँदा दिदै पनि प्राविधिक कठिनाई रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।
प्रतिक्रिया