इक्वेडरको कारगार दंगामा ६८ कैदीको हत्या

0
Shares

क्वेटो, (एजेन्सी) ।

इक्वेडरको एउटा कारागारमा शुरू भएको नयाँ दंगामा कम्तीमा ६८ जना कैदीको ज्यान गएको छ । सरकारी अधिकारीहरूका अनुसार गत सेप्टेम्बरमा कारगारमा दुई प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा एक सय जनाभन्दा बढी कैदी मारिएको स्मरण गराएका छन् । ग्वायाकिवल शहरको लिटोरल पेनिटेन्सरी कारागारमा शुक्रबार साँझ सो भयानक भिडन्त शुरू भएको थियो । प्रहरी सुरक्षा फौजले कारगारभित्र छिरेर दंगा रोक्न हस्तक्षेप गर्ने क्रममा त्यहाँ अवैध बन्दुक, विस्फोटक पदार्थ र ब्लेडहरू भेटाएको थियो ।

यसवर्ष मात्र इक्वेडरका विभिन्न कारगारमा भएका यस्ता हिंसात्मक दंगामा झण्डै तीन सयजना कैदीले ज्यान गुमाइसकेका छन् । तर, सेप्टेम्बरको दंगा भने इक्वेडरको इतिहासकै सबैभन्दा खतरनाक रहेको थियो । त्यसबेला कैदीहरूले आफ्ना विपक्षी समूहमाथि आक्रमण गर्न पर्खालमा प्वाल पारेर विपक्षीहरूको खोरमा पुगेका थिए । दंगा नियन्त्रणका लागि कारगारमा सयौं सैनिक तैनाथ गर्नुपरेको कारागारका अधिकारीहरूले बताएका छन् ।

यसरी कैदीहरूको भिडन्तका क्रममा एकले अर्कामाथि आक्रमण गर्दा निर्मम तरिकाले धारिला हतियारबाट अंगहरू काट्ने गरेका छन् । यस्तो तरिका मेक्सिकोस्थित लागु औषध तस्कर माफिया समूह सिनालोवा र जालिस्को न्यु जेनेरेसन कार्टेल्सबाट प्रभावित रहेको बताइएको छ ।