कांग्रेस महाधिवेशनका लागि विभिन्न समिति गठन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ देखि २६ सम्म हुने महाधिवेशनको लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । आइतबार सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि मूल तयारी समितिका साथै अन्य विभिन्न समिति पनि गठन गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएअनुसार मूल आयोजक समितिमा सबै केन्द्रीय समितिका सदस्यहरू पदेन सदस्य रहनेछन् । बैठकले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ भने सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरेको छ । महाधिवेशनमा विदेशी पाहुनाहरूलाई स्वागत सत्कार गर्ने समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री डा. प्रकाशशरण महतलाई दिइएको छ ।

महाधिवेशनका लागि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नेतृत्वमा स्वास्थ्य समिति र काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई मञ्च व्यवस्थापनको नेतृत्व दिइएको छ । सांस्कृतिक समितिको संयोजक केन्द्रीय सदस्य सीता गुरुङलाई तोकिएको छ ।

केन्द्रीय समिति बैठकले प्रदेश अधिवेशनका लागि पनि समन्वय समिति गठन गरेको छ । प्रदेश नम्बर १ को संयोजकको जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई र प्रदेश नम्बर २ को जिम्मेवारी रमेश रिजाललाई दिइएको छ । प्रदेश अधिवेशनका लागि समन्वय गर्न वागमती प्रदेशको संयोजकमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको छ ।

कार्यतालिकाअनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुँदै छ । केन्द्रीय समितिले प्रदेश–१ को अधिवेशन विराटनगरमा, प्रदेश–२ को जनकपुरमा, वागमती प्रदेशको हेटांैडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा गर्ने प्रस्ताव गरेको छ ।