प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

0
Shares

काठमाडौं, (नेस) ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा आइतबार एक समूहले प्रदर्शन गरेको छ ।

सडकबाट राजीनामा माग गर्दैमा संवैधानिक विधि र प्रक्रियाभन्दा बाहिर गएर राजीनामा नदिने प्रधानन्यायाधीशको अभिव्यक्तिलाई बल पुग्ने गरी उक्त समूहले उहाँकै पक्षमा प्रदर्शन गरेको हो ।

सर्वोच्च अदालतको मूलद्वारभित्र राणालाई रोक्न भन्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले धर्ना दिइरहेका बेलामा राष्ट्रिय झण्डा बोकेर मोटरसाइकलमा आएका केही व्यक्तिहरूले ‘न्यायमा अवरोध गर्न पाइँदैन’ भन्ने नारा लगाउँदै वकिलहरूको धर्नाको विरोध गरेका हुन् । परिसरमा धर्ना जारी रहेका बेलामा अदालतबाहिर न्यायालय अवरुद्ध गरेको विरोधमा नारा लागेपछि केहीबेर तनाव भएको थियो । केही बेरको नाराबाजीपछि प्रहरीले अदालतबाहिर प्रदर्शन गर्नेहरूलाई त्यहाँबाट हटाएको थियो । आन्दोलनकारी र बाहिर प्रदर्शन गर्ने समूहबीच तनावको अवस्था नआओस् भनेर सर्वोच्च अदालतमा सुरक्षाकर्मीको संख्या बढाइनुका साथै सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रधानन्यायाधीश राणा आइतबार बिहान १०ः४८ बजे अदालत प्रवेश गर्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आइतबारका लागि १० वटा इजलास तोक्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराई, मीरा खड्का र हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमा, बमकुमार श्रेष्ठ र हरिप्रसाद फुयाल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी, प्रकाशमान सिंह राउत, कुमार रेग्मी र कुमार चुडाल, तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलास तोक्नुभएको हो ।

प्रधानन्यायाधीश राणाले आइतबारका लागि ८ संयुक्त र २ एकल इजलासमा २ सय ७२ थान मुद्दाको पेशी तोक्नुभएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा १२ र टंकबहादुर मोक्तानको इजलासमा १० वटा मुद्दाको पेशी तोकिएको छ । संयुक्त इजलासतर्फ न्यायाधीशहरू कुमार रेग्मी र डा. कुमार चुडालको इजलासमा सबैभन्दा बढी ६६ मुद्दाको पेशी तोकिएको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरूले दुई सातादेखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । आइतबारका लागि बन्दी प्रत्यक्षीकरणका तीन मुद्दा मात्र पेशीमा चढाइएको थियो ।