एमालेको महाधिवेशन प्रतिनिधि चयन ८५ प्रतिशत सकियो

0
Shares

काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि चयन कार्य ८५ प्रतिशत सकिएको छ । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबारसम्ममा केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेको जानकारी दिनुभयो ।

देशका अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । भट्टराईका अनुसार कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देशन दिइएको छ । प्रतिनिधि चयन भएका जिल्लाहरूमा प्रदेश नम्बर १ अन्तर्गत पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर रहेका छन् ।

त्यसै गरी, वागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर, उपत्यका विशेष कमिटीअन्तर्गत पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीबाट प्रतिनिधि चयन भएका छन् । गण्डकी प्रदेशअन्तर्गत गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङबाट प्रतिनिधि चयन गरिएको छ । लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशअन्तर्गत हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेतमा प्रतिनिधि चयन कार्य सम्पन्न भइसकेको छ ।

त्यसै गरी, सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी रहेको भट्टराईले जानकारी दिनुभयो । केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्र्रदेश कमिटीहरू, प्रदेश सम्पर्क कमिटीहरू र प्रवास समन्वय कमिटीहरूबाट पनि प्रतिनिधि चयन भइसकेका छन् । पार्टीका केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयबाट पनि प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।

एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशनका लागि शनिबारबाट देशभर एकैसाथ शुरु भएको प्रतिनिधि चयनको प्रक्रियाअन्तर्गत एमालेले ८ लाख १० हजार संगठित सदस्यबाट १ हजार ९ सय ९९ महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।