जिल्ला अदालत काभ्रेपलाञ्चोकमा १२ बजेसम्म हडताल


मोतीराम तिमल्सिना, काभ्रे  ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्तिक २५ गतेबाट कानुन व्यवसायीहरूले गरेको हडताल कायम छ । दिउसो १२ बजेसम्म हडताल गरेका कानुन व्यवसायीहरूले सेवाग्रहिलाई असर नपार्ने उद्देश्यले त्यस पछि बहस गर्न थालेका हुन् । कार्तिक ३० गतेसम्म निरन्तर हडताल कायम रहने कानुन व्यवसायीहरूले बताएका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विरुद्ध आन्दोलन चर्किरहँदा जिल्ला अदालतमा पनि कानुन व्यवसायीहरूले नेपाल बार एसोसिएसनले गरेको आन्दोलनलाई समर्थन गर्दै हडताल गरेको बताएका छन् । हडतालका कारण सेवाग्रहिहरुलाई भने असर पु-याएको छ । ‘१२ बजेसम्म अदालतका काम कारवाही हडतालका कारण प्रभावित भएका छन्’–श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘बहसमा कानुन व्यवसायीहरू सहभागी नभई हडताल भएका कारण १२ बजे पछि बस्ने इजलासबाट सेवाग्राहीहरूले चाहे जस्तो सेवा हुन सकेको छैन ।

 न्यायालय भित्रको सुधार र प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरू पक्ष र विपक्षमा आन्दोलनरत छन् । कानुनले प्रधानन्यायाधीश हटाउने विधि तय गरेको भए पनि आन्दोलनबाटै प्रधानन्यायाधीशलाई राजीनामा दिन बाध्य पार्ने बारको आन्दोलन प्रति राजनीतिक दल मौन छन् ।

केही कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश भ्रष्ट हुनुमा वरिष्ठ वकिल, राजनीतिक दलका नेताहरु पनि सहभागी भएकाले सबैलाई एकै स्थानमा राखेर छानबिन गर्नु पर्ने आवाज उठाउन थालेका छन् भने न्यायाधिश र न्यायालयमा काम गर्ने सबै कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नु पर्ने आवाज उठ्न थालेको छ । सेवाग्राहीहरूले सर्वोच्च अदालतबाट सेवा नपाएका बारेमा कानुन व्यवसायीहरू मौन छन् ।