सरकारले अझै धान किन्न शुरू गरेन



नेपाल समाचारपत्र, बाँके ।

बेमौसमी वर्षाले भित्र्याउन तयार भएको धानबालीमा क्षति पुर्‍याएपछि बचेको धान बिक्री गर्ने बेला भएको छ । तर, सरकारले किसानको धान खरिद गर्ने प्रक्रिया नै शुरू नगर्दा किसान समस्यामा परेका छन् ।

बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि रनभुल्लमा परेका किसान सरकारी राहतको आशामा बसेका छन् । सरकारले राहत दिनु त कता हो कता वर्षा र बाढीबाट बचेको धानबाली बेच्ने ठाउँसमेत उपलब्ध गराएको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष किसानको धान खरिद गर्दै आएको छ । तर, यसवर्ष धान खरिदको कोटासमेत निर्धारण गरेको छैन । सरकारले धान खरिदको प्रक्रिया अघि नबढाउँदा व्यापारीले न्यूनतम् समर्थन मूल्य दिन पनि हिच्किचाइरहेका छन् ।

सरकारले यो वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ७ सय ५२ र मसिनो धानको मूल्य दुई हजार ९ सय रूपियाँ कायम गरेको छ । तर, पश्चिम तराईका किसान भने सरकारी दर भन्दा प्रतिक्विन्टल ३ देखि ५ सय रुपियाँसम्म कम मूल्यमा धान बिक्री गर्न बाध्य छन् । धान खरिदको रकम निकासा नभएकाले खरिद गर्न नसकिएको भन्दै सरकारी अधिकारीहरु जिम्मेवारीबाट पन्छिने गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका शाखा प्रमुख रामबहादुर विष्टले माथिबाट नै धान खरिदको लागि रकम निकासा नभएकाले खरिद गर्न नसकिएको बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँके, बर्दिया, कैलालीसहित तराईका ८ वटा शाखामार्फत धान खरिद गर्दै आएको छ । गत वर्ष नेपालगन्ज शाखाले मात्र ४७ हजार ८ सय क्वीन्टल धान खरिद गरेको थियो । यो वर्ष कुनै सुरसार नै गरेको छैन ।

सरकारले कोटा निर्धारण गरेर धान खरिद गरेपछि व्यापारीहरुले त्यही अनुसार प्रतिस्पर्धा गरेर धान खरिद गर्ने गर्दथे । यसो गर्दा किसानले राम्रो मूल्य पाउँथे । अहिले सरकारले धान खरिद प्रक्रिया अघि नबढाउँदा व्यापारीले मनोमानी तरिकाले धान खरिद गरिरहेका छन् । व्यापारीले अहिले १८ सय रुपियाँमा प्रतिक्विन्टल धान खरिद गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्