पर्यटक आकर्षित गर्न डबली निर्माण

0
Shares

नेपाल समाचारपत्र, पाल्पा ।

स्थानीय कला संस्कृतिको संरक्षण, पाल्पामा पर्यटकहरुको बसाइँ लामो बनाउने उद्देश्यले पाल्पाका दुई स्थानमा सांस्कृतिक डबलीको निर्माण गरिएको छ । वर्र्षौंदेखि नै पर्यटकीय क्षेत्रको रुपमा ख्याति कमाएको पाल्पामा थप आन्तरिक र बाह्य पर्यटकको आकर्षणलाई वृद्धि गर्नका लागि डबलीको निर्माण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारले तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माण गरेको हो । प्रदेश सरकारको उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पामा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने क्रममा जिल्लाका दुई स्थानमा सांस्कृतिक डबली निर्माण गरेको हो । प्रदेश सरकारले तानसेन नगरपालिका –५ कैलाशनगर र तिनाउ गाउँपालिका–२ नुवाकोटमा सांस्कृतिक डबली निर्माण गरेको छ ।

डिभिजन वन कार्यालय पाल्पामार्फत श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाखमा प्रतिष्ठा कन्ट्रक्सन प्रालिले निर्माण गरेको छ । पाल्पामा हुने सांस्कृतिक एंव धार्मिक पर्व जात्रा र मौलिक नृत्यहरु आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउन डबली निर्माण गरिएको प्रदेश सांसद डा। पुरनमान बज्राचार्यले बताउनुभयो । डबली ५ सय दर्शक क्षमताको हुने बताइएको छ ।

त्यस्तै तिनाउ गाउँपालिकाको खुल्ला सांस्कृतिक डवलीमा स्टेज, स्टेज अगाडि हरियो दुवोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रुम, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको सांस्कृतिक डवली निर्माण गरिएको प्रतिष्ठा कन्ट्रक्सन प्रालिका कम्पनी प्रतिनिधि दीपकबहादुर पालले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिको नुवाकोट डवलीमा २ सय ५० जना र सदरमुकाम तानसेन कैलाशनगरमा रहेको डवलीमा पाँच सय जना अट्ने क्षमता रहेको छ । पाल्पामा निर्माण भईरहेको खुला सांस्कृतिक डवली नेपालमै नमुना सांस्कृतिक डवलीका रुपमा निर्माण गरिएको वताइएको छ । निर्माण भईरहेका सांकृतिक डवलीले यस क्षेत्रकै कला संस्कृतिको जर्गेना गर्ने अपेक्षा पनि गरिएको छ ।

तराई क्षेत्रबाट जाडोमा घाम ताप्न र गर्मीमा चिसो मौसममा रमाउन, विभिन्न सांस्कृतिक कार्यक्रमको समग्र दोभान नुवाकोट क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । अंग्रेज युद्धमा नेपालले निर्माण गरेका युद्धका गढीहरू, भैरव मन्दिरसँगै ऐतिहासिक सम्पदाहरू विकास तथा प्रचारप्रसार भई पर्यटन विकासमा थप टेवा पुग्ने तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताउनुभयो ।