अमेरिकी पत्रकारलाई एघार वर्ष कैद

0
Shares

बैंकक, (एजेन्सी) ।

म्यान्मारस्थित एउटा सैनिक अदालतले शुक्रबार अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई कडा श्रमसहितको एघार वर्ष लामो कारावास सजाय सुनाएको छ । संयुक्त राज्य अमेरिका र मानव अधिकारवादी संस्थाहरूले उनको रिहाइको लागि आवाज उठाइरहे पनि उनलाई तीनवटा अभियोगमा यस्तो कडा सजाय सुनाइएको हो ।

गत फेब्रुअरीमा शान्तिका लागि नोबेल पुरस्कार विजयी आङ सान सुकीको जननिर्वाचित सरकारलाई सेनाले अपदस्थ गरेयता सजाय सुनाइएका सात जना पत्रकारमध्ये फेन्स्टरलाई दिइएको सजाय सबैभन्दा कडा रहेको छ ।

अनलाइन पत्रिका फ्रन्टियर म्यान्मारका व्यवस्थापक सम्पादक फेन्स्टरले अझै आतंकवाद र जालसाजीजस्ता थप अभियोगको पनि सामना गरिरहेका छन् । यदि ती अभियोग पनि प्रमाणित सावित भएको खण्डमा उननलाई आजीवन कारावास सजाय हुन सक्छ । वकिल थान जाअ आागका अनुसार उनलाई झुठा सूचनाहरू प्रचार प्रसार गरेको, अवैध संघ संस्थाहरूसँग सम्पर्क राखेको तथा भिसासम्बन्धी नियमहरू उल्लंघन गरेको अभियोगमा दोषी करार गरिएको हो । आफूलाई यो सजाय सुनाइएपछि उनी अदालत कक्षभित्रै रोएका थिए । तर, उनका वकिलले उनले यस सजायविरुद्ध अपिल गर्ने निर्णय गरिनसकेको बताएका छन् ।

फेन्स्टरलाई २४ मे मा याँगुन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । त्यतिबेला उनी अमेरिकाको डेट्रोइटमा आफ्नो परिवारलाइ भेट्न जाने तरखरमा थिए ।