कांग्रेस अधिवेशन: फेरी दुई जिल्लामा विवाद

0
Shares

काठमाडौं, (नेस) ।

पछिल्लो कार्यतालिका अनुसार हिजो शनिबारदेखि शुरु भएको कांग्रेसको अधिवेशन प्रक्रियामा पुनः अवरोध सिर्जना भएको छ । वडा अधिवेशन हुन बाँकी १४ जिल्लामध्ये दुई जिल्लामा क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन रोकियो भने अन्य १२ जिल्लामा सञ्चालन भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार क्रियाशील सदस्यता विवादका कारण पूर्वनिर्धाारित कार्यतालिका अनुसार शनिबार पर्सा र सर्लाहीमा वडा अधिवेशन हुन सकेन ।

उहाँका अनुसार बाँकी जिल्लाहरू डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराह, धनुषा, महोत्तरी, बारा, रसुवा, रौतहट र सिन्धुपाल्चोकमा भने वडा अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोकका केही वडामा मात्र अधिवेशन गर्न बाँकी थियो ।

सोलुखुम्बु, म्याग्दी र दार्चुलामा शनिबार प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने तय भएको थियो । निर्वाचन समितिका सचिव श्रेष्ठका अनुसार ती तीन जिल्लामध्ये सोलुखुम्बुमा आज आइतबार मात्र अधिवेशन हुने र म्याग्दीमा शनिबार अधिवेशन भएको छ ।

हालसम्म कांग्रेसको ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । बाँकी जिल्लामा पालिका अधिवेशन कात्तिक ३० गते हुँदै छ भने प्रदेशसभा अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन मंसिर ६ गते गरिँदै छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन भने मंसिर १० गते गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन समितिले जनाएअनुसार सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १ गते हुने भएको छ । यसअघि रोकिएको जुम्लाको जिल्ला अधिवेशन पनि मंसिर १ गतेहुने भएको छ । पालिका अधिवेशन सम्पन्न भइसकेको ४६ जिल्लामा भने प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते र जिल्ला अधिवेशन १० गते हुने भएको छ ।

प्रदेश अधिवेशन भने मंसिर १६ र १७ गते हुने कार्यतालिका रहेको छ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने कार्य तालिका रहेको छ ।