एमालेको महाधिवेशन प्रतिनिधि अधिकांशमा सर्वसम्मत

महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने

0
Shares

काठमाडौं, (नेस) ।

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अगाडि बढाएको छ । शनिबार देशभर एकैसाथ एमालेले प्रतिनिधि चयनको काम अगाडि बढाएको हो ।

संगठित सदस्यको आधारमा जिल्लाबाट प्रतिनिधि चयन भएका छन् । एमालेको ८ लाख १० हजार संगठित सदस्यबाट १ हजार ९ सय ९९ महाधिवेशन प्रतिनिधि चयन हुने छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १ हजार २ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था रहेको छ ।

एमाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन गर्दै छ । महाधिवेशन प्रतिनिधिहरुले नै आगामी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशभर नै सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि चयनको काम भएको बताउनुभयो । उहाँका अनुसार सबै ठाउँमा सर्वसम्मतरूपमा प्रतिनिधि चयन भएको हो ।

यसैबीच, एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई निर्देशन दिनुभएको थियो ।

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चयन हुनुपूर्व उहाँले सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासन सहितको अभ्यास हो, प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो’, उहाँ भन्नुहुन्छ– ‘दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ, दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो ।’