कांग्रेसले बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशन आजबाट शुरु गर्दै


काठमाडौं ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन शुरुआत गर्दै छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन शरुआत हुँदैछ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्को निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन शुरु गर्ने जानकारी दिनुभयो ।

समितिले यही कात्तिक ११ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ-नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।

यसैगरी प्रदेश अधिवेशन आगामी मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गरिने कार्यतालिका छ ।