पुसमा चपली हाइट, माघमा म यस्तो गीत गाउँछु

0
Shares

कोरोनाको केश घट्दै गएपछि सरकारले हल खोल्ने अनुमति दिए पनि दर्शक हलसम्म नआउने चिन्ताले आप्mना फिल्म रिलिज गर्न डराएका निर्माताहरू बलिउड फिल्म सूर्यवंशीले राजधानीमा राम्रो व्यापार गरेपछि धमाधम रिलिज डेट घोषणा गर्न थालेका छन्।

यसै क्रममा निर्माता निर्देशक सुदर्शन थापाले आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ अब आगामी माघ १९ गते रिलिज गर्ने घोषणा गरेका छन्। यस कोराना जोखिमका कारण देशमा लगाइएको निषेधाज्ञाले २०७६ साल फागुन ३० गतेका लागि रिलिज डेट तय गरिएको यो फिल्मको रिलिज स्थगित गरिएको थियो। अब भने करिब २० महिनापछि यो फिल्म रिलिज हुने भएको छ। ‘दर्शकले फिल्मको प्रतीक्षा गरिरहनुभएको छ। त्यसैले, यो प्रेम कथाको फिल्मलाई हामीले प्रेम दिवसको छेको पारेर रिलिज गर्ने तयारी गरेका हौँ’ सुदर्शनको भनाइ छ।

निर्माता निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको निर्माणमा तयार पारिएको फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

त्यसैगरी, चर्चामा रहेको अर्को फिल्म चपली हाइटले पनि रिलिज डेट तय गरेको छ। निर्माता तथा संगीतकार अर्जुन कुमारद्वारा निर्मित फिल्म आगामी पुस २ गते रिलिज हुने भएको छ। यसअघि, यो फिल्म २०७७ सालको चैत २८ गते रिलिज गर्ने तयारी गरिएको थियो। अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहाडीलगायतले अभिनय गरेका छन्। आकाश बरालको पटकथा र संवाद रहेको फिल्ममा सुभाष भुसाल र अर्जुन कुमारको संगीत छ। फिल्म निकेश खड्काले निर्देशन गरेका छन्।

दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म चिसो मान्छे भने आगामी वैशाख ३० गते रिलिज हुने भएको छ।

त्यसैगरी, निर्माता, निर्देशक तथा अभिनेता जयकिशन बस्नतेले गत साता आफ्नो पछिल्लो फिल्म धुम ४ रिलिज गरेका छन्। यीबाहेक अन्य केही फिल्मले पनि रिलिज डेट तय गर्ने तयारी गरिरहेका छन्।