- प्रेम रावत
यो जीवन एउटा यस्तो उपहार हो जुन अर्को पटक पाइँदैन । यो जीवनको भरपूर लाभ उठाउनुहोस् । तपाईँ जो हुनुहुन्छ, जस्तो हुनुहुन्छ, त्यस्तो यो पृथ्वीमा न त कहिल्यै कोही थियो, न कोही हुने नै छ । तपाईँजस्ता धेरै हुन सक्लान् । तपाईँ मुस्कुराउँदा जसरी मुस्कुराउनुहुन्छ त्यस्तो मुस्कान तपाईँको मात्रै हुन्छ । तपाईँ रुँदाखेरि जसरी रुनुहुन्छ त्यस्तो रुवाइ तपाईँको मात्र हुन्छ । तपाईँ हाँस्दा जस्तो प्रकारले हाँस्नुहुन्छ त्यस्तो हँसाइ तपाईँको मात्र हुन्छ । हामी कुन चीजका लागि बाँचिरहेका छौँ ? जे छ त्यसका लागि कि जुन छँदै छैन त्यसका लागि ?
हरेक मानिस आफ्नो जीवनमा एउटा दियोजस्तै हो । दियोले उज्यालो दिन्छ । दियोले म कसलाई उज्यालो छरिरहेको छु भनेर हेर्दैन । उसको छेउमा यदि चोर या सन्त जो आएका भए पनि तिनका लागि उत्तिकै प्रकाश दिन्छ । हामीले जति पनि फरक छुट्याएका छौँ नि, त्यस कुरासँग दियोले कुनै पनि सम्बन्ध राख्दैन । यसको काम त केवल प्रकाश छर्नु हो । जसरी सूर्य उदाएर सारा संसारलाई उज्यालो छर्छ अनि उसले ‘यो चोर हो या असल मानिस हो’ भनेर हेर्दैन ।
मेरो स्रोत अर्थात् मेरो शान्तिको स्रोत मभित्रै छ भन्ने कुरा हामीलाई थाहा हुनु अपरिहार्य छ । मैले त्यो स्रोतसँग नाता गाँसेर त्यो बाहिर प्रकट भएपछि सबैका लागि एउटा यस्तो वातावरण बन्नेछ, जहाँ म सबैसँग खुशी बाँड्नका लागि तयार हुनेछु ।
दुई प्रकारका मानिसहरू छन् । एकजना त्यस्ता मानिस जोसँग तपाईँ एक मिनेट पनि बिताउन सक्नुहुन्न । अनि, अर्का त्यस्ता मानिस जसले तपाईँको जीवनमा अलिकति मुस्कान भरिदिन्छन्, अलिकति खुशी ल्याइदिन्छन् । हामीले एक–अर्काको जीवनमा अलिकति आनन्द र मुस्कान ल्याउनुपर्छ । यदि हामीले त्यस्तो गर्न थाल्यौँ भने अर्थात् हरेक मानिसले त्यस्तो कार्य गर्न थालेपछि यो सबै माहोल नै परिवर्तन हुन्छ अनि उनले तपाईँका सारा समस्यालाई आफ्नो काँधमा लिएर हिँड्छन् भन्ने पनि होइन । होइन ! उनले केवल एउटा सानो काम के गरून् भने, तपाईँको जीवनमा एउटा बलिरहेको दियो बनून् ।
एकदिनको कुरा हो । एउटा रोकिरहेको बस चल्न लाग्यो । एकजना निकै वृद्ध मानिस त्यो बसको पछि–पछि दगुर्न लागे । त्यो उनी चढेको बस थियो तर त्यो छुट्यो । अनि, बसको गति बिस्तारै–बिस्तारै गरेर बढ्न थाल्यो । बिचरा तिनले निकै दौडने प्रयत्न पनि गरे तर एकदमै वृद्ध भएका कारणले उनी दौडन सकेनन् । मेरो गाडीको ड्राइभरले त्यो बस ड्राइभरकहाँ गई त्यो कुरा भनून् भनेर म सोचिरहेको थिएँ । यत्तिकैमा एकजना मानिस आफ्नो मोटरसाइकलमा आए अनि उनले बसलाई रोकेर ड्राइभरलाई भने– ‘तपाईँका एकजना यात्रु छुट्नुभएको छ ।’ ड्राइभरले बस रोकेपछि ती वृद्ध मानिस त्यो बसमा चढे । त्यसपछि उनी गए । ती मोटरसाइकलवालाले ती वृद्ध मानिससँग ‘तपाईँले मलाई धन्यवाद भन्नुभएन !’ भनेर पनि भनेनन् । अहँ !
मैले के सोचेँ भने, हामी देवदूतको कुरा गर्छौँ । ती व्यक्ति पनि एक देवदूत जसरी नै आए । कति मानिसका लागि तिनले एउटा अत्यन्तै जटिल कुरालाई सहज बनाइदिए । ती आए । कहाँबाट आए ? थाहा छैन । अनि कहाँ गए ? म हेरिरहेँ तर कहाँ गए ? उनी कतै गए । उनी हेर्दाखेरि कुनै विशेष खालका मानिस पनि थिएनन् ।
तथापि, उनी मानिस थिए । ती मानिसका रूपमा देवदूतजस्तै भएर आए अनि एउटा एकदमै सानो काम गरे, त्यसपछि गए । यस्तो कार्य हामी सबैले गर्न सक्छौँ । यसका लागि तालिमको आवश्यकता पर्दैन । यो सबैभन्दा ठूलो कुरा हो । यसका बारेमा हामी सोच्दैनौँ । यो मानवता हो । जब मानिसले आफूले आफूलाई नै चिन्दैन भने उसको मानवता के हो भनेर उसले बुझ्न सक्दैन । यस कुरालाई बुझ्नु अत्यन्तै आवश्यक छ । किनभने जब विपत्ति आउँछ, जब सङ्कट आइपर्छ, त्यो समयमा हामीले कसैका लागि केही गर्न सक्छौँ । यो संसारमा मानिस आउने–जाने क्रम त चलिरहन्छ नै तर सबैभन्दा ठूलो कुरा के हो भने, हामीले एक–अर्काका लागि के गर्न सक्छौँ ? यदि केही गर्न सकियो भने त त्यसबाट अर्को मानिसलाई अलिकति भए पनि चैन प्राप्त हुन्छ । केवल यत्ति नै ! यी त याद गर्नुपर्ने साना–साना कुरा हुन् तर हामी त यी कुरालाई बिर्सनुहुँदैन भन्ने कुरालाई नै बिर्सन्छौँ ।
संसारमा अहिले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) हुनु एउटा निकै ठूलो समस्या भएको छ । हामी पर्यावरणलाई जोगाउने कुरा त धेरै गर्छौँ नै तर वास्तवमा हामी यसप्रति सचेत छैनौँ । वातावरणलाई संरक्षण गर्न तथा यो धर्तीलाई अभैm सुन्दर अनि बस्नयोग्य बनाउनका लागि हामी जागरुक हुनु अति आवश्यक छ ।
यदि यो विश्वलाई हामीले आफ्नै घर ठान्ने हो भने, जसरी हामी आफ्नो घरलाई सफासुग्घर गरेर राख्छौँ, हरेक चीजलाई जोगाएर राख्छौँ, नयाँ–नयाँ रङ्ग लगाउँछौँ, घरलाई सजाउँछौँ, जसले गर्दा घर राम्रो देखियोस् । त्यसरी नै हामीले यो सम्पूर्ण संसारलाई पनि आफ्नो घरका रूपमा सम्झिन थालेपछि यो विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) को समस्या पनि समाप्त हुनेछ । यो सिङ्गो पृथ्वी नै हाम्रो घर हो तर हामी आफ्नै घर भत्काउनमा उद्यत् भइरहेका छौँ । परिणामतः सबैमा यसको प्रभाव पर्छ । तथापि, जुन दिन हामी यो संसारलाई, यो पृथ्वीलाई अपनाउँछौँ– ‘यो मेरो पृथ्वी हो’ त्यस दिन हामी यो पृथ्वीमा हानि पु¥याउने कार्यबाट पछि हट्छौँ ।
आज विज्ञान र प्रविधिको होडबाजी छ । हामी उन्नति गरिरहेका छौँ, अघि बढिरहेका छौँ, तथापि योसँगसँगै आपैmँबाट टाढा पनि गइरहेका छौँ । विनाशकारी हतियार बनाउनका लागि पनि प्रविधिको प्रयोग हुन सक्छ अनि मानिसको कल्याणका लागि पनि । तथापि, हामी कसरी प्राविधिक प्रगतिलाई मानवता र शान्तिका लागि उपयोग गर्न सक्छौँ त ! जसरी यदि हामीलाई कुनै चीज आवश्यक छैन भन्ने लाग्यो भने हामी त्यसतर्पm ध्यान दिँदैनौँ । त्यसै गरी के यो संसारमा शान्ति हुनुपर्छ भन्ने आवश्यकतालाई बोध गर्छौँ त ! के यसले हाम्रा लागि पनि कुनै महत्त्व राख्छ या राख्दैन ! यदि केवल कुरा मान–सम्मानको हो भने मानिसका लागि कुनै सीमा नै हुँदैन । यदि मानिसले मेरो पनि कुनै जिम्मेवारी छ भनेर बुझ्न थाले भने त्यो प्रविधिको प्रयोग मानिसहरूको भलाइ होओस् भन्ने उद्देश्यले मात्रै हुन थाल्नेछ । यसर्थ दुवै खाले कुरा छन् ।
उदाहरणका लागि यदि एकजना क्याप्टेनले उनका जहाजका यात्रुहरूको रक्षा गर्नु उनको जिम्मेवारी हो भन्ने कुरा बोध गरे भने ती यात्रुको रक्षा गर्नतिर उनको ध्यान जानेछ । यदि उनले यो जिम्मेवारीबोध गरेनन् भने त्यही जहाजलाई पहाडतिर ठोक्काउन पनि सक्छन् । अतः यो कुरा मानिसमा निर्भर रहन्छ । कुनै पनि प्रविधि हामीकहाँ आएपछि हामीले त्यसको सदुपयोग गर्नेछौँ या यसको दुरुपयोग गर्नेछैनौँ भन्ने कुरा हाम्रो सोचमा आधारित हुन्छ । यसको सदुुपयोग या दुरुपयोग, यी दुवै कुरा मानिसको बुझाइमा निर्भर गर्दछ ।
वर्तमान समयमा हामी सबै मोबाइल फोन र सामाजिक सञ्जालमा अभ्यस्त भएका छौँ । हाम्रो धेरैभन्दा धेरै समय यसैमा खर्च हुन्छ । हामी सबै यो लत (बानी) बाट बच्न चाहन्छौँ तर कसरी बच्ने ! किनभने, एउटा लत सामाजिकरूपमा स्वीकार्य हुन्छ भने अर्को लत सामाजिकरूपमा स्वीकार्य नहुने पनि हुन्छ । जुन कुरा सामाजिकरूपमा अङ्गीकार गर्न योग्य हुँदैन त्यसका लागि हामी सबैथोक गर्न तयार हुन्छौँ । जुन सामाजिकरूपमा स्वीकार्य हुन्छ त्यसलाई कुनै वास्ता गरिरहेका हुँदैनौँ । तथापि, मानिसहरूले के कुरालाई भुल्छन् भने, दुवै लत नै हुन् । दुवै लत मानिसका लागि खराब हुन् ।
यो समाजमा, यो बाहिरको संसारमा सबै कुरा सन्तुलित हुनुपर्छ । प्रविधिको प्रयोग पनि सन्तुलित ढङ्गले गर्नुपर्छ । खाना पनि चाहिँदो मात्रामा मात्रै खानुपर्छ । शारीरिक व्यायाम पनि सन्तुलित हुनुपर्छ । हरेक कुरा सन्तुलित हुनुपर्छ । हामीले तिनलाई बुझेर अपनाऔँ । सबैभन्दा राम्रो कुरा त त्यही नै हुनेछ । अर्थात् तनावमा होइन । यो सामाजिक स्वीकारोक्तिको रोग हो । हरेक मानिस समाजले स्वीकार गरोस् भन्ने चाहन्छ । मानिसले त उसका साथी होऊन् अनि सबैले उसलाई स्वीकार गरून् भन्ने चाहन्छ तर किन ! किनभने, उसले आफूले आफूलाई चिन्दैन । त्यसकारण ऊ के चाहन्छ भने, अरू मानिसले उसलाई चिनून् । अरू मानिसहरूले त्यसमा जस्तो प्रतिक्रिया जनाउनेछन्, त्यसैका आधारमा उसले आफूले आफूलाई चिन्नेछ । तथापि, यसरी उसले आफूले आफूलाई चिन्न सक्नेछैन । सामाजिक स्वीकारोक्ति त मानिसलाई पहिलादेखि नै चाहिएको थियो । यो नयाँ कुरा होइन ।
सामाजिक स्वीकारोक्ति तिनैलाई चाहिन्छ जसले आफूले आफूलाई चिन्दैनन् । आफूले आफूलाई बुझेपछि मानिसहरू अरूतिर मोडिँदैनन् । अनि, प्रविधिका माध्यमबाट मानिसहरूले जानकारी प्राप्त गर्न सक्छन् र आफ्नो लक्ष्यसम्म पुग्न पनि सक्छन् । यसर्थ आफूले आफूलाई नै चिन्नु आवश्यक छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)
प्रतिक्रिया