बाँकेमा कोइराला पक्ष च्यापिँदै

0
Shares

नेपाल समाचारपत्र, बाँके ।

सुशील कोइराला बाँचुन्जेल बाँके जिल्ला कांग्रेसको केन्द्रविन्दुमा रह्यो । पार्टीमा कोइराला पक्षको हालीमुहाली नै रह्यो । पार्टीको सभापति र प्रधानमन्त्रीसमेत भएका सुशील कोइरालाको निधनपछि बाँकेमा कोइराला पक्ष च्यापिँदै गएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधरले कोइराला पक्षलाई पेलान शुरु गरेको छ । अहिलेसम्म पार्टी सभापतिमा बाजी मार्न नसकेको देउवा पक्षले यसपालि जसरी पनि ‘नेतृत्व’ हत्याउने दाउमा रहेको देखिन्छ ।

यही विवादले गर्दा वडा अधिवेशनको मुखैमा निर्वाचन समितिको सचिवालयमा तालाबन्दी भएको छ । देउवा पक्षधरले फर्जी नामावली जिल्लामा पठाउन तयार गरेको सुइँको पाएपछि कोइराला पक्षले तालाबन्दी गरेको हो । जिल्ला सभापति किरण कोइरालाको उपस्थितिमै सचिवालयमा अनिश्चित्कालीन तालाबन्दी गरिएको छ ।

कांग्रेसको २७ गते वडा र ३० गते पालिका अधिवेशन रहेको छ । विवादमा परेका १३ जिल्लाका लागि यो तालिका सार्वजनिक गरिएको छ ।
बाँकेमा शुरुदेखि नै क्रियाशील सदस्यता विवाद देखिएको छ । विवाद मिलेर अधिवेशनको तयारीमा जुटिरहँदा फेरि केन्द्रबाट २ सय ३९ जनाको नामावली जिल्लामा आउँदै छ भन्ने सुइँको पाएपछि कोइराला पक्षधरले निर्वाचन समितिको सचिवालयमा तालाबन्दी गरेका छन् । कोइराला पक्षधर नेता पोषण केसीले केन्द्रबाट थप नामावली पठाउन थालेपछि पार्टी कार्यालयमा तालाबन्दी गरेको जानकारी दिनुभयो । केन्द्रले छुटपुट भन्दै २ सय ३९ जनाको नामावली पठाउन थालेको कोइराला पक्षधर नेताहरुको भनाइ छ ।

क्रियाशील सदस्यको बढी विवाद क्षेत्र नं. १ मा देखिएको छ । अहिले थपिएको २ सय ३९ जनामध्ये पनि धेरैजसो क्षेत्र नं. १ कै रहेको कोइराला पक्षधर नेताहरु बताउँछन् । सुशील कोइराला पार्टीको केन्द्रविन्दुमा रहँदा सधैं किनारामा परेका देउवा पक्षधरले यसपालि जसरी नेतृत्व हत्याउनका लागि आफू पक्षीय धेरै जनालाई क्रियाशील सदस्यता बाँडेको छ ।

जिल्ला सभापति रहेकै गुटले पार्टी कार्यालयमा रहेको सचिवालयमा तालाबन्दी गरेपछि फेरि बाँकेको अधिवेशन रोकिने अवस्था आएको छ । ‘विवादित कुरा नमिलेसम्म हामीले अधिवेशन गर्न दिँदैनौँ’, केसीले भन्नुभयो– ‘पहिला आइसकेको नामबाहेक अरू थप्न पाइँदैन ।’

पार्टीले बाँकेमा निर्वाचन गराउन रेवतीरमण भट्टराईलाई पठाएको छ । अधिवेशनको मुखमै विवाद भएपछि फेरि अधिवेशन सर्ने अवस्था आएको छ । निर्वाचन तालिकाअनुसार, २७ गते वडा अधिवेशन, ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेशसभा क्षेत्र अधिवेशन, ६ गते प्रतिनिधिसभा र १० गते जिल्ला अधिवेशन रहेको छ ।