जलवायुसम्बन्धी अमेरिका र चीनबीच ऐतिहासिक सहमति

0
Shares

ग्लास्गो, (एजेन्सी) ।

वातावरणवादी अभियन्ता र राजनीतिज्ञहरूले जलवायुसम्बन्धी आपसी सहयोग गर्ने प्रतिवद्धतासहितको अमेरिका र चीनले जारी गरेको अप्रत्यासित घोषणापत्रको गम्भीरताका साथ स्वागत गरेका छन् ।

युुरोपेली संघ (ईयू) र संयुक्त राष्ट्र संघले यस कदमलाई प्रोत्साहनजनक र महत्वपूर्ण भएको जनाएका छन्, तर ग्रिनपिसले भने दुवै मुलुकले यस समबन्धमा ठोस कारबाही अघि सार्नुपर्नेमा जोड दिएको छ । अमेरिका र चीन विश्वकै सबैभन्दा बढी कार्बन डाइअक्साइड निष्कासन गर्ने मुलुक हुन् ।
सन् २०१५ को जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा अमेरिका र चीन दुवैले पृथ्वीको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमै सीमित बनाउने लक्ष्य प्राप्तिका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए । वैज्ञानिकहरूले यदि विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न सकेको खण्डमा मानव जगत जलवायु पविर्तनका कारण हुनसक्ने डरलाग्दा असरहरूबाट जोगिनसक्ने बताउँछन् ।
विश्वका अत्यन्तै प्रतिस्पर्धी मुलुक चीन र अमेरिकाले शुक्रबार स्कटल्यान्डको शहर ग्लास्गोमा औपचारिक रूपमा समापन हुनलागेकोे कोप २६ जलावायु परिवर्तन शिखर सम्मेलनमा बुधबार सो ऐतिहासिक घोषणापत्र जारी गरेका हुन् ।
सम्भवतः चाँडोमा आगामी साता नै अमेरिकी राष्ट्रपति जा बाइडेन र उनका चिनियाँ समकक्षी सि जिनपिङबीच भच्र्युयल बैठक हुने अनुमान गरिएको छ । जलवायुसम्बन्धी चिनियाँ दूतका अनुसार विगत दश महिनाभित्र अमेरिकासँग करिब तीसवटा बैठक बसेपछि बल्ल यो घोषणापत्रका लागि सहमति भएको जनाएको छ ।