छठ मनाउने तयारी, दुलहीझैँ सिँगारिए छठियाघाट

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

तराई मधेसको क्षेत्रमा निकै श्रद्धा र भक्तिका साथ मनाइने छठको दोस्रो दिन मंगलबार व्रतालुहरू ‘खरना’ विधिको मनाएका छन् ।  पर्वको पहिलो दिन सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका व्रतालुहरू मंगलबार पञ्चमी तिथिका दिन ‘खरना’ गरेका हुन् ।

मंगलबार बिहानै स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सख्खरमा पकाइएको खिर कूल देवता र छठीदेवीलाई चढाई त्यही खिर खाने चलन छ । ‘खरना’ का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर राखेर खीर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।

पर्वको तेस्रो दिन भोलि बुधवार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । यसै गरी पर्सी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुने गर्दछ ।

यसैबीच यो वर्षको छठ पूरा बुधवार परेको छ । छठको अवसरमा वीरगन्जमा रहेका छठियाघाटहरु दुलही झैँ सिंघारिएका छन् । वीरगन्जको मुख्य घटिअर्वा पोखरी लगायतका क्षेत्रहरु दुलही झैँ सिंघारिएका छन् । अघिल्लो वर्ष कोरोना कहरका कारण उत्ति राम्रोसँग छठ मनाउन नपाएका यस क्षेत्रका नागरिकहरूले भने यसपालि धूमधामका साथ छठ मनाउने तयारी गरेका छन् ।

सोमबारबाट सुरु भएको यो वर्षको छठ पर्व बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्ध दिएपछि समापन गरिन्छ । सूर्यलाई भगवान् मानी पूजा गर्ने प्रचलन परापूर्व काल देखि नै चन्दै आएको  र छठी मैया भगवान् बहकी छोरी रहेको धार्मिक मान्यता छ । छठको व्रत बस पूजाआजा गर्नाले निःसन्तानलाई सन्तान प्राप्त हुने लगायतका धार्मिक मान्यता छ ।