लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाको दिन काठमाडौँको डिल्लीबजारमा भएको हो । उनको मृत्युचाहिँ वि.सं. २०१६ भाद्र २९ मा भएको हो । उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन् ।
देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन् । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरह्यो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेका थिएनन् । त्यसैले उनी सानैमा भन्थे, ‘म अंग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन पढाएर पैसा कमाउँछु ।’ तर उनीचाहिँ जन्मेदेखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।
देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन । उनले महाकाव्य, लामा वर्णनात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखे । कविता पढेजस्तै अनुभव हुने देवकोटाका निबन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन् । यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशकपछिसम्म पनि अत्याधिक बिक्री हुने कृतिमा पर्दछ । मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो । देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे । यिनी एकपटक नेपालको शिक्षामन्त्रीसम्म भएका थिए । यिनकै पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो ।
महाकविको काव्य प्रतिष्ठामा आँसुकवित्वले अग्रगति वा गतिरोध के दियो ? यसतर्फ पर्याप्त विवेचना भएको छैन । नेपाली साहित्यका अगुवा समीक्षकहरूले देवकोटाको आँसुकवित्वले उनको काव्यसिर्जनामा ल्याएका व्यवधानको हल्का संकेतसम्म गरेर त्यसलाई कविको विलक्षण खुबीका रूपमा प्रशंसा गर्नमै तल्लीन भएका छन् । नेपाली काव्यजगत्का भावकहरूका प्राप्यशामा आसुकवित्वले उभ्याएका अप्ठ्यारा पर्खालहरूबारे खास चर्चा भएको छैन ।
महापुरुष कोही पनि दिप्यपुरुष हुँदैनन्, जतिसुकै असाधारण गुणसामथ्र्य भए पनि अन्तिम विश्लेषणमा उनीहरू पनि मानवीय गुणदोषयुक्त मानव नै हुन् भन्ने प्रस्थापनाबाट समीक्षा गर्ने काम थोरैमात्र भएको छ ।
साहित्य भाषिक कला हो । कला भएकाले यसको स्रष्टाले यसलाई सावधानीपूर्वक कुँद्नुपर्छ, खार्नुपर्छ, प्रशोधन गर्नुपर्छ, काट्नुपर्छ, छाँट्नुपर्छ र आफूभित्रको पाठक सन्तुष्ट नभएसम्म त्यसलाई टल्काउनुपर्छ, चिल्लो पार्नुपर्छ । सहज कलाका नाममा जे–जसरी आयो त्यो त्यसरी व्यक्त गर्दैमा कला माथि उठ्दैन, सौन्दर्यका पारखीहरू प्राकृतिक वनमा भन्दा मान्छेले बनाएका उपवनमा ज्यादा सौन्दर्य देख्दछन् ।
परन्तु महाकविले काँटछाँट मन पराएनन्, अनुभूतिको पहिलो झुल्का जसरी झुल्क्यो त्यसरी नै झुल्क्यो, जसरी भुल्क्यो त्यसरी नै भुल्क्यो । यसमा उनले बुझ्नुपर्ने, हाम्रो चित्तधारा प्रत्येक अंशमा कलात्मक र परिस्कृत हुँदैन, हरेक मोडमा प्रशोधित हुँदैन, त्यसैले विश्लेषण, छनोट, संश्लेषण र उपयुक्त संयोजनको आवश्यकता सदैव रहन्छ । त्यसका लागि कलाकारमा धैर्य, संयम र सावधानी आवश्यक हुन्छ ।
यसैमा देवकोटा सुदृढ हुन सकेनन् । एकपटक लेखेको शब्दलाई हटाएर अर्को विकल्प राख्नु उनका लागि कठिन कार्य थियो । कला प्रथम चरणमा स्वान्तसुखायको वस्तु हुनसक्छ तर अन्तिम चरणमा यो एक सामाजिक वस्तु हो, सामाजिक सरोकारको वस्तु हो । तर देवकोटाले आफ्ना कृतिहरूलाई पाठकको दृष्टिकोणबाट हेरेनन् । असाधारण वेगमा हुइँकिएर गन्तव्यमा पुग्नु नै उनको सोख बन्यो ।
– कमल चौलागाईं, काठमाडौं ।
मौलिकता हराउँदै गएको देउसी–भैलो
देउसी–भैलो समूहमा मिलेर गाइने गीत हो, जुन तिहारको बेलामा मात्र गाइन्छ । हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो, जसमा महिला र पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर–घरमा गएर गीत गाउँछन् । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् ।
टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठी खोलेर दान दिन्छन्, मीठा–मीठा परिकार दिन्छन्, छानामाथि घिरौंला के–के दिन्छन् हेरौंला भन्दै खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलि राजाले पठाएको भन्ने गरिन्छ ।
यो गीत गाउँदा साधारणतः एकजना मुख्य हुन्छन् र समूहका अरू व्यक्तिहरू मुख्य व्यक्तिको देउसिरे भन्दै गीतको अन्तसम्म अनुशरण गर्छन् । तर पछिल्लो समय देउसी–भैलो पनि समयसँगै आधुनिक बन्दै गएको छ ।
मादल, बाँसुरी, खैँजडी, मुजुरालगायतका मौलिक नेपाली बाजागाजा प्रयोग गर्दै हातले ताली बजाउँदै आफ्नै गाउँठाउँको स्थानीय पन झल्काउने भाकामा गीत गाउँदै छमछमी नाचेर खेलिने देउसी–भैलोलाई अहिलेको आधुनिक गीत–संगीतले ओझेलमा पारिदिएको छ । देउसी–भैलोको परम्परागत भाका भट्याउनु अथवा स्थानीय जीवनशैलीको प्रतिनिधित्व हुने गरी मन छुने गीत गाउन सक्ने प्रतिभाको कमी छ अहिले ।
परम्परागत भाका भट्याउनु अथवा स्थानीय जीवनशैलीको प्रतिनिधित्व हुने गरी मन छुने गीत गाउनुको सट्टा अंग्रेजी, हिन्दी र नेपाली चल्तीका गीत बजाएर झाँक्री उफ्रेजसरी उफ्रेर नाच्ने र गाउने अहिलेको देउसी–भैलोले हाम्रो मौलिक देउसी–भैलोलाई विस्थापन नै गर्न लागिसकेको छ ।
सामाजिक कल्याणको कार्य गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले सामूहिक रूपमा खेलिने देउसी–भैलो कुनै संघसंस्था अथवा समूहको सीमित आर्थिक स्वार्थका लागि खेल्न थालेपछि देउसी–भैलोप्रति स्थानीयको रुचि र सहभागिता पनि घट्दै गएको छ । रुचि र सहभागिता घट्नाले मौलिक देउसी–भैलो लोपको सँघारमा पुगेको छ भने आधुनिक देउसी–भैलोले जरा गाड्ने सम्भावना बढ्दै गएको छ । देउसी–भैलोले सामाजिक सद्भावलाई समेत संवद्र्धन गर्दै आएको परिप्रेक्ष्यमा यसलाई कायम राख्न युवा पुस्तामा देखिएको पश्चिमी संस्कृतिप्रतिको आकर्षण र बढ्दो सांस्कृतिक अतिक्रमण र हस्तक्षेपलाई कम गर्नेतर्फ समाजका अगुवा र विशेष गरी संस्कृतिकर्मीहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।
– निलम थापा, बागलुङ ।
प्रतिक्रिया