फूलैफूलको मौसममा फूलका कुरा



फूल भन्नाले फूल भन्ने बुझिन्छ भने पुष्प व्यवसाय भन्नाले फूल उत्पादन गरेर त्यसलाई बिक्री गरेर जीविकोपार्जन गर्ने क्रियालाई बुझाउँछ । नेपाली संस्कारमा फूल जन्मेदेखि मृत्यु पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ । धर्मकर्म, पूजापाठ, प्रेमालाप, कुनै वरिष्ठ पाहुनाको स्वागत घर या वातावरणको सजावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ ।
नेपालमा वार्षिक करिब पौने दुई अर्ब रुपियाँ बराबरको फूलको कारोबार हुन्छ । यस क्षेत्रका विज्ञहरू नेपाल भौगालिक र पर्यावरणीय हिसाबले समेत फूल खेतीका लागि उपयुक्त रहेको बताउँछन् ।
फूल खेतीको व्यावसायिक प्रवद्र्धन गर्न सकिए रोजगारी र गरिबी निवारणमा समेत महत्वपूर्ण योगदान पुग्ने उनीहरूको विश्वास छ । तर, नेपालको पुष्पखेती भने अझै पनि उपेक्षित छ । तिहारका बेला भारतबाट फूल भित्र्याउने क्रम रोकिएको छैन ।
व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण नहुनु, परम्परागत खेती प्रणालीका कारण व्यावसायिकता फस्टाउन नसक्नु, व्यवसायी आफैं पनि पुष्पखेतीमा लगानी गर्न हिच्किचाउनुलगायत कारणबाट अथाह सम्भावनाका बावजुद यसले उचाइ पाउन सकेको छैन ।
हाल नेपालमा सात सयभन्दा बढी संख्यामा पुष्प व्यवसाय सञ्चालनमा छन् । यो संख्या वर्षेनी बढ्दै गएको छ ।
फूलको अनुपम सौन्दर्य देखेर हरेक मान्छेको मन मोहित बन्छ । फूल हेर्न, समिपमा जान, स्पर्श गर्न, जानकारी लिन र सुगन्धको अनुभूति गर्न लालायित हुन्छ मान्छे । फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतीक पनि मान्न सकिन्छ । फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो ।
धार्मिक, सांस्कृतिक, सामाजिक, शारीरिक, मानसिक, भावनात्मक र वातावरणीय महत्व र फाइदाहरू धेरै भएको फूलको आर्थिक महत्व र दायरा वर्तमान समयमा बढ्न थालेको छ । विश्वमा वार्षिक करिब १० बिलियन डलर बराबर फूलको निर्यात हुने अनुमान गरिएको छ ।
फूल उत्पादन, प्रशोधन र निर्यात गर्ने प्रमुख राष्ट्रहरूमा निदरल्यान्ड, कोलम्बिया, इक्वेडर र केन्या हुन भने बेलायत, जर्मनी, फ्रान्स र विश्वका प्राय सबै देशहरूमा पनि फूलको उत्पादन, प्रयोग र बिक्री बितरण हुन्छ । फूलको व्यावसायिक उत्पादन र कारोबार तीव्र गतिमा बढिरहेको छ ।
तिहार नजिकिँदै गर्दा फूलको माग बढ्न जान्छ । यस साल भने पुरुषोत्तम महिन परेको कारणले गर्दा एक महिना महान चाडवाडहरू सरेको कारणले गर्दा फूलमा तालमेल मिल्न गएको छैन । समयानुकूल फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा भर पर्ने हुन्छ ।
फूल प्रकृतिको वरदान हो । प्रकृतिले दिएको सर्वोकृष्ट उपहार हो फूल । फूल पवित्रताको प्रतीक पनि हो । भगवानको पूजामा होस् वा प्रेम र स्नेहको अभिव्यक्तिमा वा शुभेच्छा र सद्भाव प्रदर्शन गर्न नै किन नहोस् जहाँकहीँ फूल प्रयोग हुन्छ ।
तसर्थ स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा विस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती शुरू गरेका कारण विगतमा भन्दा झण्डै ८५ प्रतिशत फूलको आयात कम भएको छ । पछिल्ला वर्षमा फूलको माग बढेको छ । माग र आपूर्तिमा सन्तुलन मिलेको छैन ।
नेपाल सरकारले व्यावसायिक रूपबाट कृषकहरूलाई आकर्षित गर्ने उदेश्यले पुष्पको खेती विस्तार गरेमा अर्बौं रुपियाँको फूल विदेशी बजारमा निर्यात गर्न सकिन्छ । यसर्थ विश्व बजारमा नेपाली पुष्पको माग दिनप्रतिदिन बढ्दो रूपमा एकातिर छ भने अर्कोतिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घरघरमा कौंसीमा पनि पुष्पको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ ।
फूल व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि निरन्तररूपमा फूल प्रदर्शनी व्यापार मेलाहरूको आयोजना गर्दैै आइएको छ । व्यवसाय प्रवद्र्धनका लागि फूल प्रदर्शनी तथा व्यापार मेला एक प्रभावकारी माध्यमको रूपमा रहेको छ । नेपाली पुष्पलाई विश्व बजार बढाउनु अति आवश्यक भएको छ । मुलुकमा नयाँ–नयाँ पुष्पको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन ।
प्राकृतिक रूपमा सुन्दरताले भरिपूर्ण देश नेपालमा हरेक घरहरूमा फूलमय वातावरण, फूलैफूलका गाँउ बस्तीहरू, फूलसहर, फूलप्रदेश र फूलैफूलको देश अनि सबै फूल जस्तै मान्छेहरू भइदिए नेपाल साँच्चिकै स्वर्ग बन्थ्यो होला १ फूलैफूलको मौसममा यो तिहार रंगीन बनोस् सबैलाई शुभकामना ।

सरस्वती शाक्य, ललितपुर ।
……………………………………….
दीपहरूको पर्व दीपावली, गाउँ सहर झिलिमिली
नेपालमा तिहारको रौनक थपिएको छ । कोरोना महामारीका कारण पोहोर तिहार प्रभावित भए पनि यसपाली यसको असर कम देखिएको छ । यस्तै गाउँ शहर झिलिमिली हुन थालेका छन् ।
तिहारमा विभिन्न प्रकारका पूजाहरू गर्ने गरिनछ । जसमध्ये लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथिअनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ ।
नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्री भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । लक्ष्मी धनकी देवीलाई भनिन्छ ।
यस दिन अपनाउनुपर्ने विशेष सावधानीहरू
घरको झ्याल र ढोका
लक्ष्मी पूजाको दिन घरको मुख्य झ्याल र ढोका खुल्ला राख्नुपर्छ, जसले तपाईंको घरमा सुख र शान्ति कायम रहन्छ । घरको मुख्य ढोका अगाडि रंगोली बनाउनुपर्छ । मुख्य ढोकाको उत्तर दिशामा रातो अबिरले स्वस्तिक बनाउनुपर्छ, त्यसो गर्दा अति शुभ हुन्छ ।
सर सफाई
पूजामा प्रयोग हुने किताब र अन्य कुराको सरसफाई लक्ष्मी पूजाको दिन बिहान नै गर्नुपर्छ । साँझ परेपछि घरको कुनै ठाउँको पनि सरसफाई गर्नु हुँदैन । त्यसो गर्नाले माता लक्ष्मी रिसाउँछिन् भन्ने धार्मिक मान्यता छ ।
नुन र पानी मिसाएर छर्कनुपर्छ
लक्ष्मी पूजाको दिन घरमा नुन पानी छर्कनुपर्छ । लक्ष्मी पूजाको दिन बिहान नुन पानी छर्कनुपर्छ । त्यसो गर्दा घरको वातावरण शुद्ध हुन्छ । वर्षभरी प्रवेश गरेका नकारात्मक शक्तिहरूबाट पनि मुक्ति मिल्छ ।
मूर्ति स्थापना
लक्ष्मी पूजाको समय मन्दिरमा राखिने गणेश र लक्ष्मीको मूर्तिलाई घरको उत्तर दिशामा स्थापित गर्नुपर्छ । लक्ष्मी पूजा गर्दा कुवेरको मूर्ति स्थापना गर्न बिर्सनु हुँदैन । उत्तर दिशातर्फ मूर्ति स्थापना गरेर पूजा गर्दा दुई गुणा फल प्राप्त हुनुको साथै घरको वास्तु दोष पनि समाप्त हुन्छ ।
कालो रंगको वस्त्र
लक्ष्मी पूजाको दिन कालो रंगको वस्त्र लगाउनु हँुदैन । विशेष गरेर पूजा गर्दा कालो रंगको कुनै पनि वस्तु प्रयोग गर्नु हुँदैन । कालो रंगका वस्तुको प्रयोगले माता लक्ष्मी रिसाउन सक्छिन्, जसको नराम्रो परिणाम तपाईंले वर्ष भरि नै भोग्न पर्ने हुन सक्छ ।
फुटेका भाँडा
लक्ष्मी पूजाको दिन फुटेका भाँडाको प्रयोग गर्नु हुँदैन । घरमा आएका पाहुनालाई फुटेका भाँडामा खाना खान दिनाले पनि घरमा गरीबी बढ्छ र जीवनमा वास्तुदोष उत्पन्न हुन्छ ।
खन्डित मूर्ति
पूजाको समयमा कुनै पनि भगवानको मूर्ति खन्डित छ कि छैन भन्ने कुरा ध्यान दिनु पर्छ । खन्डित मूर्ति र तस्वीरको पूजा गर्नाले देवी(देवता रिसाउँछन् ।
गणेश पूजा
गणेश भगवान विवेक र बुद्धिको प्रतीक हुन् र लक्ष्मीलाई धन(सम्पत्तिको देवी मानिन्छ । धन(सम्पत्ति सधैं त्यही व्यक्तिसँग मात्र टिक्छ, जसले सोच विचारका साथ काम गर्छ । त्यसैले भगवानसँग धन पदार्थ माग्नु पूर्व त्यसलाई सम्हालेर राख्नको लागि बुद्धि माग्नु आवश्यक छ । यसरी लक्ष्मी पूजाको दिन यी वास्तु टिप्सलाई ध्यान दिएर पूजा गर्नाले तिहारमा मात्र होइन वर्षभरी नै शुभ र खुशी रहनु हुन्छ ।

सुमन कोइराला, काठमाडौं ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्