तिहारलगत्तै ‘विश्वासको मत’

0
Shares

रोशन पराजुली, हेटौंडा ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तिहारलगत्तै संसद्बाट विश्वासको मत लिने हुनुभएको छ । कात्तिक ११ गते गठबन्धनका तर्फबाट ५९ सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले कात्तिक २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री बन्नैका लागि संघीय राजनीतिबाट प्रदेशमा आउनुभएका पाण्डेलाई सत्तारोहण गर्न ४२ महिना कुर्नुप¥यो । तर, अब लामो समय नकुरेर ‘जनताका काम’ गर्ने मुडमा मुख्यमन्त्री देखिनुभएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन मुख्यमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सोहीअनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्बाट निर्णय गराएर विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बताउनुभयो । ‘सरकार गठनकै दिन मन्त्रिपरिषद्बाट निर्णय गरेर तिहारलगत्तैको मिति तय गरेका थियो । कात्तिक २२ गते प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको छ ।’ –मन्त्री खनालले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले हालकै अवस्थामा संसद्बाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । प्रदेशसभामा गठबन्धनसँग ५९ मत छ । सरकार टिकाउन ५५ मत भए पुग्छ । गठबन्धनमा भएको छलफलअनुसार विश्वासको मत लिएसँगै उहाँका चुनौती मन्त्रिपरिषद् विस्तार हो । सरकारले पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेको छ ।

नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनले निर्णय नगरेको बताउनुभएको छ । उहाँले मुख्यमन्त्री नियुक्त गर्ने दिन गठबन्धनका दलहरुबीच सामान्य छलफल भए पनि निष्कर्षमा नपुगेको बताउनुभयो ।

प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार बनाउनु र विश्वासको मत लिनुपर्ने पहिलो आवश्यकता भएकाले गठबन्धन त्यसतर्फ केन्द्रित भएकाले मन्त्रिपरिषद् र मन्त्रालय भागवण्डाको विषय टुङ्ग्याउन बाँकी रहेको उहाँले बताउनुभएको छ । सरकारको विश्वासको मतसम्बन्धी प्रस्ताव टुंगिएपछि मन्त्रिपरिषद् विस्तार हुने नेता जम्कट्टेलको भनाइ छ ।

सरकारको सन्तुलन र कामका आधारमा मन्त्रालय विभाजन हुन सक्ने उहाँले संकेत गर्नुभयो । ‘जनताका काम गर्ने विषयमा सरकारले कञ्जुस्याइँ गर्दैन । परिस्थिति र सन्तुलनका लागि मन्त्रालयको संख्या बढ्नसक्छ ।’ –नेता जम्कट्टेलले भन्नुभयो ।

वागमती प्रदेशमा पाँच दलीय गठबन्धनलाई मन्त्रालयको भाग पुर्‍याउन मन्त्रालयहरु फुटाउने तयारी भएको छ । बिहीबार मुख्यमन्त्री बन्नुभएका पाण्डेले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय फुटाएर १३ वटासम्म बनाएर गठबन्धनलाई भाग पु¥याउने तयारी गर्नुभएको हो ।

यसअघि नै सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय छुट्टै बनाइएको छ । अब अन्य मन्त्रालय पनि फुटाएर मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारी गरिएको हो ।राज्यमन्त्री छुट्टै हुनेछन् ।

हालसम्म गठबन्धनमा छलफल भएअनुसार सामाजिक विकास मन्त्रालयलाई फुटाएर थप दुईवटा मन्त्रालय बनाइने छ । यसअघिकी मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाउनुभएको थियो । त्यसलाई पुनः विभाजन गरेर थप दुई मन्त्रालय गठन गरिने भएको हो । जसमा खेलकुद विकास मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनाउने तयारी गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर ऊर्जा तथा खानेपानी मन्त्रालय बनाउने छलफल भइरहेको दाबी छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई विभाजन गरेर कृषि मन्त्रालय छुट्टै बनाउने र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर वन तथा वातावरण मन्त्रालय बनाउने मुख्यमन्त्री पाण्डेको तयारी छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५/५ वटा मन्त्री पाउने सम्भावना छ भने समाजवादीले मुख्यमन्त्रीसहित ३ जना मन्त्री पाउने गरी छलफल भइरहेको छ । जसअनुसार कांग्रेस र माओवादीबाट थप ४/४ जना र समाजवादीबाट १ जना मन्त्री बन्ने भएका छन् । गठबन्धन दललाई खुसी बनाएर भागवण्डाको विषय टुंगोमा पुर्‍याउनु र आफ्नो कार्यकालमा जनताले सम्झनलायक काम गर्नु पाण्डेका लागि ठूलो चुनौती बनेर आएको छ ।