‘एमसीसीलाई अगाडि बढाउने निर्णय नेपालको हातमा’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालले पाउने ५० करोड अमेरिकी डलरको अनुदानका लागि अनुमोदनमा ढिलाइ भइरहेको भन्दै अब एमसीसीलाई अगाडि बढाउने निर्णय नेपालको हातमा रहेको जनाएको छ ।

नेपाल कम्प्याक्टका सम्बन्धमा सोमबार एमसीसीले वक्तव्य जारी गर्दै गत शुक्रबार समाप्त भएको संसदीय अधिवेशनमा एमसीसीसँगको सम्झौता अनुमोदन नहुँदा लाखौं नेपाली घरपरिवारले पाउने लाभमा थप ढिलाइ भएको भन्दै दुःख प्रकट गरेको छ । नेपालको कानुनअन्तर्गत उक्त सम्झौता अनुमोदन गर्न आवश्यक रहेको जिकिर गर्दै वक्तव्यमा अनुमोदनमा ढिलाइ हुँदा उक्त अनुदानमार्फत २ करोड ३० लाखभन्दा बढी नेपालीलाई भरपर्दो विद्युत् सेवा र सुरक्षित सडकमा पहुँच दिलाउन सघाउनेलगायतका महत्वपूर्ण तथा सामयिक सहयोग जोखिममा परेको बताइएको छ । वक्तव्यमा उल्लेख छ– ‘कम्प्याक्ट अनुमोदन गर्नका लागि आफूले चाल्नुपर्ने कदमका बारेमा आफू जानकार रहेको कुरा सत्ता गठबन्धनका नेताहरूले व्यक्त गर्नुभएको छ । कम्प्याक्टलाई अगाडि बढाउने निर्णय अब नेपालको हातमा छ ।’

वक्तव्यमा गत भदौमा एमसीसीको वरिष्ठ प्रतिनिधि मण्डलले नेपाल भ्रमणका क्रममा एमसीसी–नेपाल कम्प्याक्टसम्बन्धी दिएको स्पष्टीकरणका साथै नेपाल सरकारले कम्प्याक्टप्रतिको आफ्नो जारी समर्थन पुष्टि गर्दै व्यक्त गरेका हालैका प्रतिबद्धताहरूबाट कम्प्याक्टका लागि स्पष्ट बाटो तय भएको पनि उल्लेख छ ।

वक्तव्यमा आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारणका निम्ति कार्यरत एमसीसी अमेरिकी सरकारको एक स्वतन्त्र निकाय भएको र यसले सुशासन, भष्ट्राचारविरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्डहरू पूरा गर्ने देशहरूलाई समयसीमामा बाँधिएका अनुदान र सहायता प्रदान गर्ने स्पष्ट पारिएको छ ।