प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यको राजीनामा

0
Shares

हरिहर नेपाल, विराटनगर ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो । उहाँले सोमबारै प्रदेश प्रमुखसमक्ष राजीनामापत्र बुझाउनुभएको छ ।

नेकपा एमालेका सांसद रहेका मुख्यमन्त्री आचार्यले आफ्नो दल विभाजन भएपछि प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको छ । यसअघि माधवकुमार नेपाल समूहमै रहेका आचार्य मुख्यमन्त्री पदमा बार्गेनिङ गरेर शेरधन राईलाई हटाएर आफू मुख्यमन्त्री बनेर एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा जानुभएको थियो ।

आचार्यले सोमबार प्रदेशसभालाई सम्बोधन गरेर मुख्यमन्त्री बनेको ६७ दिनपछि पदबाट राजीनामा दिनुभएको हो । आचार्यले नेपालको संविधानको धारा ६९ (१) (क) बमोजिम पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, कांग्रेसभित्रको किचलो र नेकपा एमालेको आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो ।

नयाँ सरकार राजनीतिक गन्जागोलबीच आएको र आफूले नेतृत्व गर्दा केही राम्रो काम गरेको आचार्यले बताउनुभयो । उहाँले कोभिड नियन्त्रणका लागि निःशुल्क परीक्षण र उपचारको दायरा बढाइएको, तेस्रो लहरको सामना गर्न उपचारका लागि अक्सिजन, भेन्टिलेटर, शय्याको उचित प्रबन्ध गर्दै १० करोडको फन्ड राखेको, यातायातको सेवा अनलाइन लाने प्रबन्ध गरेको, धनकुटामा सेवा विस्तार गरेको, जिल्लाहरूमा सेवा कार्यालय खोलिएको तर एकीकृत सेवा दिने सवालमा थप अध्ययन भइरहेको सदनसमक्ष जानकारी गराउनुभयो ।

आचार्यले स्थायी राजधानीका संरचना निर्माण शुरु गर्न जग्गा खोज्न समिति बनाएको र खोजीपछि संरचना निर्माण गरिने बताउनुभयो । प्रदेशको राजस्व वृद्धि गर्न स्थायी ढंगले काम अघि बढाइएको र नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनलाई सार्थक बनाउने प्रयास गरेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘बजेट बढाउन उच्चस्तरीय कार्यदल बनाएर राजस्वका स्रोत वृद्धि गर्न अध्ययन शुरु भएको छ ।’ पर्यटन बोर्ड, खेलकुद बोर्ड, श्रम सल्लाहकार समिति गठन, मनमोहन प्राविधिक विश्वविद्यालयमा छात्रवृत्तिको स्रोत सुनिश्चित गरेको, धनकुटामा एक सय बेडको अस्पताल उद्घाटन गरेको सदनलाई जानकारी गराउनुभयो ।

राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्ने

प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारीअनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ ।

विपक्षी गठबन्धनले भने ५० जनाको हस्ताक्षर संकलन गरेर सोमबार नै सरकारका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राईले जानकारी दिनुभएको छ । प्रदेश–१ मा गठबन्धन दलको तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । विपक्षी गठबन्धनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् । प्रदेश–१ मा ९२ सांसद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक सांसद छन् ।

तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने पक्का भएको छ । प्रदेशसभामा गठबन्धनको बहुमत रहेकाले उसले राजेन्द्र राईको नाम सिफारिस गर्नेछ ।