पार्टी विभाजनको असर: केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ ।

तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ । सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा छ । एमालेबाट अगल भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै प्रदेश–१, वागमती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमाले सत्ताबाट पनि बाहिरिएको हो ।

गण्डकी प्रदेशमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाड्दा एमालेले सत्ता गुमाएको थियो । अल्पमतमा परेपछि यसअघि नै वागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको थियो ।

पार्टी विभाजन भएसँगै प्रदेश–१ मा पनि एमालेले बहुमत गुमाएको थियो । प्रदेश–१ मा एकीकृत समाजवादीका राजेन्द्र राईको नेतृत्वमा सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । एक साताअघि मात्र वागमतीमा मुख्यमन्त्री शाक्यले बहुमत गुमाएपछि राजीनामा दिनुभएको थियो । वागमतीमा अहिले समाजवादीकै राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुभएको छ । गण्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभएको छ भने लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री हुनुहुन्छ । कर्णाली र सुदूरपश्चिममा शुरुदेखि नै माओवादीका महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री रहनुभएको छ ।

२०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले सोमबारबाट शून्यमा झरेको छ । २०७४ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठूलो दलसमेत बनेको एमालेले केन्द्रसँगै सातमध्ये चारवटा प्रदेश सरकारको नेतृत्व गुमाउन पुगेको छ । यसअघि गण्डकी, लुम्बिनी र वागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको एमालेले सोमबारबाट भने प्रदेश–१ सरकारको नेतृत्व पनि गुमाउन पुगेपछि शून्यमा झरेको हो । यी चारवटै प्रदेशमा एमाले एक्लै बहुमतको सरकार बनेका थिए । चारवटै प्रदेशमा सत्ता गुमाएपछि एमाले प्रतिपक्षको भूमिकामा पुगेको छ । एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको विवादपछिको विभाजन तथा त्यसपछि एमालेको माधव नेपाल समूहले छुट्टै पार्टी गठन गरेपछि केन्द्रदेखि प्रदेशमा समेत ठूलो दलका रूपमा रहे पनि एमाले सत्ताबाट बाहिरिन बाध्य भएको हो ।