राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनीमा


यमलाल भुसाल, बुटवल ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु भएको छ ।  बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी आउनु भएकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गर्नु भएको हो ।

राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आउनु भएको हो । लुम्बिनीमा राष्ट्रपति भण्डारीले सबै भन्दा पहिले त्यहाँ बनेको बज्रयान बिहार उद्घाटन र पूजा गर्नु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनु भयो ।
त्यसपछि राष्ट्रपतिले मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिनु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकासको गुरुयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले जानकारी गराउनु भएको थियो त्यस लगत्तै लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय सभा हलको समेत अवलोकन गर्नु भएको छ ।

त्यस्तै, नेपाल मण्डल स्वागतद्वाराको निरीक्षण गर्नुका साथै शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म पैदल यात्रा गरेको र लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिएको सदस्य सचिव शाक्यले बताउनु भयो ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज
भैरहवामा सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने वुद्धमुर्तिको अनावरण गर्नु हुने छ ।