पीएसजीको पुनरागमन जित

0
Shares

लन्डन, एजेन्सी ।

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो घरेलु मैदानमा संघर्षपूर्ण पुनरागमन जित निकालेको छ ।

शुक्रबार राति भएको लिगको १२औं साताको खेलमा पीएसजीले गत सिजनको उपाधि विजेता टोली लिलेलाई २–१ गोलअन्तरले पराजित गरेको हो । पीएसजीले हार नजिक पुगेका स्थितिलाई उल्ट्याउँदै २–१ को जित निकाल्न सफल भएको हो ।

पार्क डेज प्रिन्सेस रंगशालामा भएको खेलमा पाहुना टोली लिलेले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा पीएसजीविरुद्ध अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा त्यसलाई बचाउन नसक्दा पीएसजीलाई उसैको घरमा हराउनबाट चुक्यो । लिलेले खेल शुरू भएको दोस्रो मिनेटमै सुनौलो अवसर बनाएको थियो । तर, बुराक इल्माज फिनिसिङमा चुक्दा पीएसजी गोल व्यहोर्नबाट बचेको थियो ।

तर, खेलको ३१औं मिनेटमा पाहुना टोली लिलेले खेलमा अग्रता बनायो । यल्माजले डी–बक्सको तल्लो भागबाट चलाखीपूर्वक दिएको क्रस पासमा जोनाथन डेभिडले वान टचमै सुन्दर फिनिसिङमा बललाई जाली चुमाएपछि पीएसजीको घरेलु मैदानमा लिलेले पहिला अग्रता बनायो । सो गोल गर्नुअघि लिले दुई सुनौला अवसरमा चुकेको थियो ।

पीएसजीले भने पहिलो हाफमा एउटा पनि गतिलो अवसर सिर्जना सकेन । पीएसजीले पहिलो हाफमा जम्मा एकपटक मात्रै अन टार्गेट प्रहार हानेको थियो । तर, दोस्रो हाफमा पीएसजीले दुई गोल गरेर कमब्याक जित निकाल्यो । पीएसजीका लागि खेलको ७४औं मिनेटमा एन्जल डी मारियाको पासमा माक्र्विनहसले क्रस पासमा सुन्दर गोल गरे । उनले वान टचमै गोललाई पोस्टको दिशा दिएका थिए ।

ब्राजिलियन डिफेन्डरको गोलपछि पीएसजी खेलमा फर्किएको थियो । त्यसपछि पीएसजी र लिले दुवै लगातार विजयी गोलको खोजीमा थिए । सोक्रममा पाहुना टोली लिलेले गोल पोस्ट बचाउन सकेन । खेलको ८८औं मिनेटमा पीएसजीका लागि एन्जल डि मारियाले गोल गरेपछि खेलमा पीएसजीले २–१ को कमब्याक जित सफल बनायो । डी मारियाको विजयी गोलमा नेयमारले असिस्ट प्रदान गरेका थिए ।

उता, पीएसजीका सुपरस्टार लिओनल मेसीले भने यस खेलमा पनि गोलको खाता खोल्न असफल भए । उनले पीएसजी पुगेयता फ्रेन्च लिग वानमा अहिलेसम्म गोल र असिस्ट गर्न सकेका छैनन् । घरेलु लिगमा उनको यो पाँचौं खेल थियो । उक्त खेलमा उनले पहिलो हाफसम्म मात्रै खेलेका थिए ।

शुरुवातबाटै नेयमारका साथमा खेलेका मेसीले पहिलो हाफमा गतिलो प्रभाव नजमाएपछि प्रशिक्षक मोउरिसियो पोचेटिनोले दोस्रो हाफमा मेसीलाई मैदान नै उतारेनन् । उनको स्थानमा माउरो इकार्डी मैदान पसेका थिए । यो जितपछि पीएसजीले १२ खेलबाट कुल ३१ अंक बनाएको छ । पराजित लिलेको भने १५ अंक रहेको छ ।