लगातार तीन जितसँगै पाकिस्तान सेमिफाइनलतिर

0
Shares

दुबई, (एजेन्सी) ।

पाकिस्तान जारी क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा लगभग स्थान सुरक्षित गर्न तिर लागेको छ ।

दुबईमा शुक्रबार भएको रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको हो । कप्तान बाबर आजम ५१ रनमा राशिद खानको बलमा बोल्ड भएपछि पाकिस्तानमाथि दबाब भएको थियो । बाबर क्रिजमा रहुन्जेल पाकिस्तानले खेल सहजै जित्ने अनुमान गरिएको थियो । अर्को ओभरमा न्युजिल्यान्डविरुद्ध सानदार ब्याटिङ गरेका शोयब मालिक पनि आउट भए । १९ रन बनाएर उनी आउट भएपछि भने पाकिस्तानले अन्तिम १२ बलमा २४ रन बनाउनु पर्ने कठिन समीकरण बन्यो ।

१९औं ओभर शुरू भयो, अफगान टोलीबाट करिम जन्नतले बलिङको मोर्चा सम्हाले । पाकिस्तानको तर्फबाट आसिफ अली क्रिजमा थिए । आसिफ उनै खेलाडी थिए जसले यसअघि न्युजिल्यान्डविरुद्ध जित दिलाउन ३ छक्का प्रहार गरेका थिए । उनले अफगानिस्तानविरुद्ध पनि उस्तै ब्याटिङ गरे । उनले करिमका ६ बलमा ४ छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए । न्युजिल्यान्डविरुद्ध २७ रन जोडेका उनी अफगानिस्तानविरुद्ध ७ बलमा २५ रन बनाएर नटआउट रहेका थिए ।

‘प्लेयर अफ द म्याच’ आसिफले खेलपछि बताए—बाउन्ड्री सानो थियो त्यसैले, मैले मेरो पार्टनरलाई यो ओभर मैले सम्हाल्नेछु । मैले अवस्था हेरेर ब्याटिङको योजना बनाए । मैले शोयबलाई भनेको पनि थिएँ नवीनले राम्रो बलिङ गरिरहेको थियो । मैले अर्को ओभरमा २५ रन लिन सक्ने योजना बनाएको थिएँ ।

अफगानिस्तानले यसअघि ६ विकेटको क्षतिमा १ सय ४७ रन जोडेको थियो । मोहम्मद नाबि र गुलबदिन नैयबले साताँै विकेटका लागि नटआउट रहँदै ७१ रनको साझेदारी गरेका थिए । दुवै ब्याटसम्यान समान ३५ रनमा रहेका थिए । पाकिस्तानी बलरले घातक बलिङ गर्दै उनीहरूलाई ६ विकेटको क्षतिमा ७६ रनमा पुर्‍याएका थिए । तर, नाबी र नैयबले आक्रमक ब्याटिङ गरेर टोलीलाई सम्मानजनक स्कोरमा राखेका थिए ।

समूह २ मा पाकिस्तानले लगातार ३ जित हात पारेको छ । पाकिस्तानको अर्को दुई खेल नामिबिया र स्कटल्यान्डविरुद्ध हुनेछ । नामिबिया र स्कटल्यान्ड रेन्किङमा तल भएको हुँदा पाकिस्तानको अन्तिम चार यात्रा लगभग तय भइसकेको छ । पाकिस्तानले समूहका बलिया टोली भारत र न्युजिल्यान्डलाई हराएको छ ।