अदृश्य गायक प्रभावनको दृश्य कर्म

0
Shares

काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतका प्रभावन जे एक्लैले संगीतकार, गायक, गीतकार तथा एरेन्जरको परिचय बनाउन सफल भएका छन्। २०५२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर आफ्नो सांगीतिक यात्राको थालनी गरेका उनी २०४७ सालमै राष्ट्रिय बालगीत प्रतियोगितामा प्रथम हुन सफल भएका थिए।

पहिलोपटक वरको छायाँ बोलको बोलको लोकगीत रेकर्ड गराएका प्रभावनले २०५२ सालमै आधुनिक गीत हजार वर्ष रेकर्ड गराएका थिए। यी दुवै रेडियो नेपालमा रेकर्ड भएका थिए। २०५४ सालमा रेकर्ड भएको इन्द्रकमल फूल उनको बाहिर स्टुडियोमा रेकर्ड भएको गीत हो। त्यसपश्चात् उनी आफ्नो काम विशेषले केही वर्ष सांगीतिक क्षेत्रबाट बाहिर रहे। इन्टर मिडियटसम्मको अध्ययन नेपालमा गरी थप अध्ययनको लागि भारत पुगेर भारतमा मास कम्युनिकेसनमा पीएचडी गरेका उनी आफ्नो नामभन्दा पनि काममा विश्वास राख्ने गर्दछन्। त्यसैले, त एउटा दुईटा गीत गाएकै भरमा चर्चा हुने जमानामा यतिका वर्ष संगीत क्षेत्रमा बिताए पनि प्रभावनको तस्वीरसम्म पनि हालसम्म अदृश्य बन्न पुगेको छ।

२०६३ सालमा नौ महिना बोलको आमा विशेष गीत सार्वजनिक गरेका उनले २०७० सालमा बाटो पर्खेर बोलको लोकगीत सार्वजनिक गरे। उनमा संगीतको एउटा तीर्खा थियो, त्यो जुन क्षेत्रमा रहे पनि रही रहयो। २०७४ सालदेखि भने उनी आफ्नो
अन्य सम्पूर्ण व्यस्ततालाई पन्छाएर संगीत सिर्जनामै रमाइरहेका छन्। अदृष्य गायक, संगीतकारको रूपमा आफूलाई स्थापित गराउन सफल प्रभावन जेले सयभन्दा बढी गीत सिर्जना गरिसकेका छन्। आधुनिक, लोक तथा राष्ट्रिय गीतहरू सार्वजनिक गर्दै आएका उनी संगीत गर्ने गीत गाउने शब्द लेख्ने मात्र नभई गीत संगीत तथा नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यका साथ डीएआर मुभिज एन्ड फिल्म्स कम्पनी सञ्चालन गरेर यस क्षेत्रमा सक्रिय भइरहेका छन्। उनले आफ्नो नेतृत्वमा एक समूह स्थापना गरी टिम सञ्चालन गर्दै आएका छन्। फिल्म, गीत संगीत, टेलिफिल्म निर्माण गर्नुका साथै अन्य निर्माताको फिल्म खरिद गरेर डिजिटल बजार व्यवस्थापनको कार्य उनको डीएआर ग्रुपले गरिरहेको छ र छिट्टै नै स्याटेलाइट टेलिभिजनसमेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।

हालसालै दुईवटा दक्षिण भारतीय फिल्म मिनाल मुरली र उरियटको पाश्र्व संगीतका लागि सम्झौता गरेका प्रभावन जेको पापी दाई, जालमा फसायौ, माछी भुल्यो सर्वाधिक सफल गीत हुन्।