केन्द्रीय नेतृत्व महाधिवेशन प्रतिनिधिको जोडघटाउमा केन्द्रित


रामकृष्ण चापागाईं, काठमाडौं ।

सत्ताधारी दल नेपाली कांग्रेसले आन्तरिक विवादका कारण अन्योल भएको महाधिवेशन प्रक्रिया अगाडि बढेसँगै केन्द्रीय नेतृत्वले आफ्नो सम्पूर्ण ध्यान फेरि महाधिवेशन प्रतिनिधिको जोडघटाउमा केन्द्रित गर्न थालेका छन् ।

केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रतिनिधिसभा, क्षेत्रीय अधिवेशनबाट चुनिएर आउने भएकाले कांग्रेस महाधिवेशनमा निर्वाचन क्षेत्रको अधिवेशनले विशेष महत्व राख्ने गरेको छ । जसका कारण क्षेत्रीय अधिवेशनमा केन्द्रीय नेताहरुले आफ्नो सम्पूर्ण शक्ति लगाउने गर्छन् । मंसिर ६ गते र १० गते बाँकी रहेको अधिकांश निर्वाचन क्षेत्रमा अधिवेशन हुने भएकाले केन्द्रीय नेतृत्व दाबी गर्ने नेताहरुले जोडघटाउको हिसाब राख्न थालिसकेका छन् ।

हालसम्म १३ जिल्लाको १४ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भई ३ सय ५५ जना महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । १४ निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधिमध्ये पुनः नेतृत्व हत्याउने रणनीतिमा लाग्नुभएका सभापति शेरबहादुर देउवा पक्षका २ सय २१ जना नेतृत्वका दाबी गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका १ सय १३ जना र १३औं महाधिवेशनबाट कांग्रेसभित्र तेस्रो गुट स्थापना गरेका नेता कृष्णप्रसाद सिटौला पक्षका २१ जना रहेको दाबी गरिएको छ ।

अधिवेशन सम्पन्न भएका १३ जिल्लामध्ये ६ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता जिल्ला सभापतिमा निर्वाचित भएका छन् । कांग्रेस महाधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना र जिल्ला सभापति महाधिवेशन प्रतिनिधि हुन्छन् । साथै विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने प्रतिनिधि र विद्यमान केन्द्रीय समिति सदस्यहरुका साथै सभापतिले मनोनित गर्ने समेत १४औं महाधिवेशनमा ५ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि केन्द्रीय नेतृत्व चयन गर्न काठमाडौं आउँदै छन् ।

१४औं महाधिवेशनमा संस्थापन पक्षबाट देउवा स्वयं सभापतिका लागि दाबेदार हुन् । यसअघि संस्थापन पक्षमा रहका विमलेन्द्र निधिले पनि सभापतिको दाबी गर्दै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । तथापि निधिको मूल क्षेत्र मानिएको तराई मधेसमा तल्लो तहको अधिवेशन सम्पन्न भएको छैन । यो अधिवेशनमा संस्थापनइतर समूहबाट नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको दाबी गरिरहेका छन् । वडा अधिवेशनअगावै संस्थापनइतर पक्षबाट एकमात्र साझा उम्मेदवार दिने भनिए पनि यो समूहभित्र नेतृत्वको विषयलाई लिएर विवाद अझै यथावत् छ । यो महाधिवेशनमा युवा नेता कल्याणकुमार गुरुङले पनि सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै आफ्नो तयारी अघि बढाइरहनुभएको छ ।

पछिल्लो कार्यतालिकाअनुसार मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने भनिएको कांग्रेसको अधिवेशन प्रक्रिया नै शुरु नभएको जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते हुँदै छ भने पालिका अधिवेशन कात्तिक ३० गते हुँदै छ ।

नयाँ कार्यतालिकाअनुसार ५८ जिल्लामा प्रदेश क्षेत्रीय अधिवेशन मंसिर ३० गते एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन मंसिर ६ गते हुँदै छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन मंसिर १० गते हुँदै छ । यसअघि प्रक्रियामा गएर पनि रोकिएको जुम्लाको जिल्ला अधिवेशन मंसिर १ गते गर्न लागिएको छ भने सोलुखुम्बु, दार्चुला र म्याग्दी ३ जिल्लामा प्रदेश अधिवेशन कात्तिक २० र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर १ गतेका लागि तय गरिएको छ । सातवटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हँुदै छ ।