सुन्धाराको गुलाब मिठाइ पसललाई २ लाख जरिवाना

0
Shares

काठमाडौं, (नेस) ।

काठमाडौंस्थित सुन्धारामा सञ्चालित गुलाब मिठाइ पसललाई महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले २ लाख रुपियाँ जरिवानासहित कारबाही गरेको छ ।

अनुगमनका क्रममा सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा सञ्चालित उक्त पसलमा मापदण्डविपरीतका खाद्यवस्तु भेटिएपछि कारबाहीस्वरूप २ लाख रुपियाँ जरिवाना गरेको हो ।

अनुचित व्यापारिक क्रियाकलाप भएकाले जरिवाना तिराउनुपरेको महानगरका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले बताउनुभएको छ । यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना तिराएका उहाँको भनाइ छ ।

समितिले अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएको जनाएको छ ।

गुलाबमा भेटिएका सामग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पु¥याउन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाले बताउनुभयो ।