दुई वर्षपछि असर्फी उत्पादन शुरू गर्दै टक्सार, १५ गतेबाट बिक्री

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

दुई वर्ष अघिदेखि रोकिएको असर्फी उत्पादन टक्सार महाशाखाले आज शुक्रबारबाट पुनः शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा स्थानान्तरण भएपछि असर्फी छपाइ ठप्प भएको थियो ।

महाशाखाका निर्देशक विनोद आचार्यले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरलगायतको उपस्थितिमा परीक्षण छपाइ शुरु गरिने जानकारी दिनुभयो । आचार्यले भन्नुभयो– ‘महाशाखाले तिहारका लागि नयाँ असर्फीे छपाइ गर्ने गरी तयारी गरेको छ । परीक्षण छपाइ सफल भए लगातार रूपमा असर्फी छाप्ने छौं ।’

निर्देशक आचार्यका अनुसार गत वर्ष पुरानो स्टक असर्फी बिक्री गरिरहेकोमा यो वर्ष सकभर नयाँ सिक्का बिक्री गर्ने तयारी भएको छ । कात्तिक १५ गतेबाट बिक्री शुरु गर्न लागेको महाशाखाले एक जनालाई एउटा मात्र सुनको असर्फी खरिद गर्न दिने व्यवस्था गरेको छ ।

निर्देशक आचार्यले हाल करिब २५ किलोजति सुनको सिक्का तयारी अवस्थामा रहेको र थप छाप्ने काम शुरु गरिरहेको जानकारी दिँदै यो तिहारका लागि महाशाखाले २ दशमलव ५, ५ र १० ग्रामका असर्फी बिक्री गर्ने बताउनुभयो ।

बजारमा आउने मूल्यको उतार–चढाबसँगै असर्फीको मूल्य दैनिकरूपमै फरक पर्ने बताइएको छ । महाशाखाको ढुकुटीमा गालिएको सुन, चाँदीका साथै विभिन्न सरकारी निकायले उपलब्ध गराएको सुन, चाँदी राखिएको छ ।

महाशाखाले हाल गणेश र लक्ष्मीको फोटो अंकित सुन र चाँदीको असर्फी तयार गरिसकेको छ । पुस १ गतेदेखि भने महाशाखाले पूर्णरूपमा स्मारिका, पदक, सिक्का र असर्फी छपाइ गर्ने भएको छ ।

सुन्धारामा रहेको भवन धरहरा पुनः निर्माणका क्रममा सरकारले जिम्मा लिएपछि नेपाल राष्ट्र बैंकले १० वर्षका लागि बबरमहलको जग्गा भाडामा लिएको थियो । महाशाखाका अनुसार हाल सुन, चाँदी, गाल्ने, गुणस्तर परीक्षण गर्नेलगायतका काम गर्दै आइरहेको छ । कार्यालय सार्दा समस्या परेको बाहेक अन्य समयमा तिहारका लागि असर्फी र चाँदीको सिक्का उत्पादन गर्ने क्रम भने नरोकिएको निर्देशक आचार्यले बताउनुभयो ।

धरहरा निर्माण क्रममा टक्सारको भवन भत्काइएपछि नेपाल राष्ट्र बैंकले २०७६ मंसिर १ गतेबाट टक्सार विभागलाई बबरमहलमा स्थानान्तरण गरेको थियो ।