पत्रकार नेपालको परिवारलाई सहयोग


चितवन ।

नेपाल पत्रकार महासङ्घले स्वर्गीय पत्रकार द्वारिका नेपालको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको रु ५० हजार र केन्द्रले प्रदान गरेको रु २५ हजार गरी रु ७५ हजार आर्थिक सहयोग गरिएको हो ।

पत्रकार नेपालको १३ औँ पून्यतिथिको अवसर पारेर शुक्रबार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले महासङ्घका पदाधिकारीको उपस्थितिमा नेपालका भाइ शालिकरामलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

यही असोज ३१ गते ४७ वर्षीय नेपालको निधन भएको थियो । दसैँको टीका लगाउन रौतहटको चन्द्रनिहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस भएपछि उहाँलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । उहाँको मष्तिष्काघातको उपचारका क्रममा निधन भएको हो ।

चितवन शाखाले यसअघि दिवङ्गत हुने आफ्ना सदस्यका परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै महासङ्घका सदस्यको रु सात लाख बराबरको दुर्घटना बीमा समेत गरिसकेको छ । बीमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायतास्वरुप महासङ्घले सो रकम सहयोग गर्ने निर्णय गरेको थियो ।