![](https://newsofnepal.com/wp-content/uploads/2021/10/collage-5-1.jpg)
– शान्त कुमारी
– डा. राजेन्द्र भद्रास्पर्शको महत्व
मानिस सामजिक प्राणी हो र एकान्तमा मात्र बस्ने वा शारीरिकरुपमा अन्तरक्रिया नगरी बस्न प्रकृतिले उसलाई बनाएको होइन । एक्लोपन वा स्पर्शको अभावले रोग निम्त्याउने वा बढाउने हुन्छ । स्पर्शले समभाव, माया, कृतज्ञताजस्ता भाव बोलेर भन्दा राम्ररी व्यक्त गर्ने गरिन्छ । आत्मीय व्यक्तिको स्पर्श सान्त्वनादायी हुन्छ, एक किसिमले सुख दिन्छ । स्पर्शको कारणले हाम्रो मस्तिष्कमा स्नायु रसायनहरू (neuro-chemicals) जस्तै कि सेरोटोनिन, डोपामिन वा अक्सिटोसिन निःसृत हुन्छन् । यही कारणले हामीमा आनन्द अनि खुशीको अनुभूति हुन्छ । असल स्पर्शले कर्टिसोल वा एड्रेनालिनजस्ता स्ट्रेस हर्मोनको उत्सर्जनलाई कम गर्न मद्दत गर्दछ । स्नेहमयी स्पर्शले हाम्रो रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । अहिले यसको महत्वलाई बुझेर शिशु तथा बाल्यकालमा उनीहरूको सर्वाङ्गिण विकासको लागि स्पर्शलाई बढावा दिन थालिएको छ । स्पर्शबाट वञ्चित शिशुको स्वास्थ्यमा समस्या हुने, राम्ररी व्यक्तित्व विकास नहुने पाइएको छ ।यौन सम्पर्क वा यौन क्रियाकलाप आफैँमा एक विशेष स्पर्श हो, जसमा यौन संवेदनशील अङ्गको स्पर्श प्राथमिकतामा हुन्छन् ।
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/10/Too-tired-for-sex-768x432.jpg)
स्पर्श र यौन
कुन व्यक्तिसँग कस्तो प्रकारको स्पर्श स्वीकार्य हुन्छ भन्ने कुरा समुदायको प्रचलनअनुसार फरक पर्दछ । शारीरिक सम्पर्क स्पर्श हो । अहिले केही परिवर्तन भए पनि नेपाली समाजमा पनि हामीले यौन सम्पर्कलाई जनाउन शारीरिक सम्पर्क भन्ने शब्दको प्रयोग गर्दछौं । शारीरिक सम्पर्क भनेको नै यौन सम्पर्क ठानिनु एक प्रतिविम्ब भए पनि स्पर्शको यौनसँगको सम्बन्धलाई उजागर गर्दछ । केही परिस्थितिलाई छोडेर धेरैजस्तो स्थितिमा पुरुष र महिलाको स्पर्शलाई यौनको दृष्टिकोणले हेरिन्छ । पति–पत्नी वा यौनजोडीको स्पर्श एकहदसम्म स्वाभाविकरुपमा यौनिक हुने गर्दछ । स्नेहयुक्त स्पर्श कुनै पनि उमेरका व्यक्तिको लागि महत्वपूर्ण हुन्छ र हिंसायुक्त छैन भने स्वीकार्य पनि मानिन्छ । यौनिकताको एक महत्वपूर्ण पक्ष ऐन्द्रिकता हो । इन्द्रियहरुको प्रयोगबाट आनन्द प्राप्त गर्ने कुरालाई यसमा केन्द्रित गरिन्छ । स्पर्श पक्कै नै इन्द्रियबाट सुख प्राप्त गर्ने कुरा हो र यो निकै महत्वपूर्ण पक्ष हो । यौनको दृष्टिले हेर्दा स्पर्शको अनेक पाटोहरू भेटिन्छन्, जसका बारेमा छोट्करीमा चर्चा गरौं ।असल र खराब यौन स्पर्श
स्पर्श थुप्रै किसिमका हुन सक्छन् । यी स्पर्श असल वा खराब के हुन्, छुट्याउन नसकिने किसिमका हुन्छन् । विशेषतः कसैलाई यौन तथा शारीरिक शोषण (त्यसमा पनि बालबालिका तथा किशोर–किशोरीमा यौन शोषण हुने परिप्रेक्ष्यमा) नहोस् भनेर खराब किसिमको स्पर्शबाट बचाउन सजिलोको लागि असल तथा खराब स्पर्शको रुपमा वर्गीकरण गर्ने गरिएको पाइन्छ । सुखानुभूति दिने स्पर्श असल स्पर्श हो । स्याबासी, धाप मार्नु, मालिस, अङ्गालो, चुम्बन, सुमसुम्याउनु असल स्पर्शका उदाहरण हुन् भने पीडादायी स्पर्श नै खराब स्पर्श हो । पिट्नु, झापड वा लात हान्नुजस्ता स्पर्श खराब स्पर्शका उदाहरण हुन् । यौनशोषण त्यसमा पनि बलात्कार वास्तवमा शायद खराब किसिमकोमा पनि सबैभन्दा निकृष्ट किसिमको स्पर्श हो । बालबालिका तथा किशोर–किशोरीलाई यौनशोषण वा दुराचारबाट बचाउन स्पर्श वर्जित क्षेत्र भनेर सजिलोको लागि अन्डर वेयर (भित्री पहिरन) नियम बनाइएको छ । केटाको लागि यौनाङ्ग (लिङ्ग, अण्डकोष), गुदद्वार तथा त्यसवरिपरिका क्षेत्र अनि केटीको लागि यौनाङ्ग (योनि, भगक्षेत्र), गुदद्वार अनि त्यसवरिको क्षेत्रको साथै छाती (स्तन) लाई स्पर्श वर्जित क्षेत्र मानिन्छ । यहाँको स्पर्श नकारात्मक मानिन्छ । स्वास्थ्य सेवा वा सरसफाइ सन्दर्भमा हुने शरीरको यस भागको स्पर्शलाई मात्र स्वीकार्य मानिन्छ ।![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/10/happy-woman-with-her-husband.jpg)