विन्टर हाफ म्याराथन कात्तिक २७ मा


काठमाडौं, (नेस) ।

चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन कात्तिक २७ गते हुने भएको छ । नेपाल एथलेटिक्स संघको समन्वयमा हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा ३ विधा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष/महिला खुला, सिन्धुपाल्चोकका स्थानीय तथा भेट्रान ४५ वर्षमाथि उमेरसमूहमा दौड हुनेछ ।

पुरुष/महिला दुवैमा समान पुरस्कार राशि राखिएको छ । खुलामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । स्थानीयतर्फ पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार हात पार्नेछन् । भेट्रानका विजेताले १० हजार, उपविजेताले ८ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार जित्नेछन् ।

तीन विभागीय टोलीसहित व्यक्तिगत रूपमा करिब १ सय ५५ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ४१ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

कुल खर्चमध्ये १० लाख परिषद्ले उपलब्ध गराउने र बाँकी अर्को आयोजक समितिले जुटाउने सदस्य–सचिव भण्डारीले बताए । त्यसका लागि दुई आयोजक परिषद्का सदस्य–सचिव भण्डारी, समितिका अध्यक्ष शेर्पा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

पत्रकार सम्मेलनमा सदस्य–सचिव भण्डारीले अर्को संस्करणदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाउने तयारी रहेको पनि बताए । वागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना हुन लागेको हो ।