बार्सिलोना हारेपछि कोम्यान बर्खास्त


मड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग पराजित भएपछि प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरिएको छ ।

लगातारको खराब प्रदर्शनसँगै बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको हो । बुधबार राति स्पेनिस ला लिगामा रायो भालेकानोसँग १–० गोलअन्तरले पराजित भएको हो । बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा क्लबका अध्यक्ष जोआन लापोर्टाले बिहीबार उनले टोलीलाई गुडबाइ भन्ने उल्लेख गरिएको छ । कोम्यान बार्सिलोनामा आएको १४ महिनामा नै बर्खास्तीमा परेका हुन् । कोम्यान सन् २०२० को अगस्टमा क्लबको मुख्य प्रशिक्षक बनेका थिए । गत आइतबार मात्र ‘एल क्लासिको’ मा रियल मड्रिडसँग घरेलु मैदानमै २–१ को हार बेहोरेको थियो ।

बार्सिलोनाको पछिल्लो चार खेलमा यो तेस्रो हार हो । बार्सिलोनाले सन् १९८७ पछि घरेलु मैदानबाहिर तीन खेलमा कुनै गोल नगरी भालेकानोसँग हार बेहोरेको छ । कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले ६७ खेल खेल्दा ३९ जित, १२ र बराबरीको नतिजा र १६ खेलमा हार बेहोरेको छ ।

कोम्यानले अन्तिमपटक बार्सिलोना सम्हालेको उक्त खेलमा घरेलु मैदानमा रायो भालेकानोलाई जिताउन राडामेल फाल्काओले ३०औं मिनेटमा गोल गरेका थिए । फाल्काओले ओस्कार ट्रेजोको पासमा गोल गरेका थिए । ६९ प्रतिशत बल पोसेसन राखे पनि पाहुना टोली बार्सिलोनाले गोल गर्न सकेन । जितसँगै रायो भालेकानोको ११ खेलबाट १९ अंक पुगेको छ । लगातार दोस्रो हार खेपेको बार्सिलोना १५ अंक छ । यसअघि ‘एल क्लासिको’ भिडन्तमा पनि बार्सिलोना रियल मड्रिडसँग २–१ गोलले पराजित भएको थियो ।

त्यस्तै, स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल मड्रिड भने ओसासुनासँग गोलरहित बराबरीमा रोकियो । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न सकेन । ३१औं मिनेटमा भिनिसियस जुनियरको सशक्त प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेर्रेराले विफल पारेका थिए । ४४औं मिनेटमा इडुआर्डो कामाभिङ्गाको सशक्त हेड प्रहारमा पनि ओसासुनाका गोलरक्षक सर्जियो बाधक बने । ६२औं मिनेटमा कप्तान करिम बेन्जेमाको पोस्ट छेउको सशक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

७५ प्रतिशत बल पोसेसन राखेको रियलले ओसासुनाको डिफेन्स लाइन चिर्न सकेन । खेलभर १७ वटा पोस्ट प्रहार गरेको रियल अन्ततः गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । डिफेन्सिभ रणनीति अपनाएको पाहुना टोली ओसासुना आफ्नो रणनीतिमा सफल बन्यो । ओसासुनाले खेलभर सातवटा फितलो पोस्ट प्रहार गरेको थियो । ओसासुनाका मिडफिल्डर डेभिड गार्सिया ‘म्यान अफ दी म्याच’ भए । बराबरीसँगै १० खेलमा ६ जित, तीन बराबर र एक हार खेपेको रियलको २१ अंक छ । ओसासुनाको भने ११ खेलबाट १९ अंक छ ।

त्यस्तै, अर्को खेलमा सेभिया १० खेलाडीमा समेटिएको मालोर्कासँग १–१ गोलको बराबरीमा रोकियो । मालोर्काको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्काले सुरुआती अग्रता लिएको थियो । २२औं मिनेटमा एन्टोनियो सान्चेजले गोल गर्दै मालोर्कालाई अग्रता दिलाए । ७३औं मिनेटमा सेभियाका इरिक लामेलाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा जउमो कोस्टा रातो कार्ड पाउँदै बाहिरिएपछि मालोर्का १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै सेभियाको २१ अंक भएको छ । त्यस्तै, मालोर्काको १३ अंक पुगेको छ । बुधबार राति नै भएको खेलमा बेटिसले भ्यालेन्सियालाई ४–१ गोलले स्तब्ध बनायो ।